
काठमाडौँ, मंसिर १३ — कीर्तिपुर–मच्छेगाउँस्थित ‘स्मार्ट जुम्बा एन्ड डान्स स्टुडियो’ले आफ्नो स्थापनाको प्रथम वार्षिक उत्सव शनिबार बिहान विविध सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ।

संस्थापक सरिता पोखरेलको सभापतित्वमा भएको समारोहका प्रमुख अतिथि चन्द्रागिरी नगरपालिका–९ का वडा अध्यक्ष अच्युत अधिकारी रहेका थिए। साथै विशेष अतिथि चन्द्रागिरी कलाकार संघका अध्यक्ष अञ्चन मगर तथा अतिथिहरूमा कोरियन भाषा प्रशिक्षक रामचन्द्र लामिछानेलगायतको उपस्थिति थियो।
सञ्चालक समिति सदस्य मञ्जु थापाले स्टुडियो स्थापनाको उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्। त्यसपछि तामाङ सेलो गीतमा सेजल शर्माले प्रस्तुत गरेको स्वागत नृत्यले उपस्थित अतिथिहरूलाई मोहित बनायो।
कार्यक्रमका विशेष अतिथि तथा अन्य अतिथिहरूले वार्षिकोत्सवको केक काटेर स्टुडियो परिवारलाई शुभकामना तथा बधाई दिए।
उत्सव कार्यक्रममा जनचाहना सुपथ मूल्य सहकारी संस्थाका संस्थापक निर्देशक दीपक बिडारी, न्यु होराइजन बोर्डिङ स्कुलका प्रिन्सिपल बुद्ध महर्जन तथा भ्याली इन्स्टिच्युटका कोरियन भाषा प्रशिक्षक रामचन्द्र लामिछानेले स्टुडियोले स्थानीय बासिन्दालाई नृत्य तथा जुम्बा तालिममार्फत स्वास्थ्य र फिटनेसमा ठूलो योगदान पुर्याइरहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे।
गायक निराजन बिष्टको मनोहारी प्रस्तुति पछि प्रमुख अतिथि अच्युत अधिकारीले नियमित व्यायामले दीर्घ र स्वस्थ जीवनलाई सहयोग पुग्ने बताउँदै स्टुडियोले कौशलसँगै स्वास्थ्य–सचेतनामा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे। उनले स्टुडियोको निरन्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे।
अन्त्यमा, स्टुडियोका संचालक तथा जुम्बा–नृत्य प्रशिक्षक विनोद थापाले एक वर्षभित्र प्राप्त उपलब्धिहरूबारे रिपोर्ट प्रस्तुत गर्दै स्टुडियोले बिहान, दिउँसो र बेलुका नियमित जुम्बा तथा नृत्य कक्षाहरू सञ्चालन गर्दै आएको जानकारी दिए।





