घरेलु तथा साना उद्योग कार्यालय संखुवासभामा बीमा सचेतना कार्यक्रम सम्पन्न



संखुवासभा, मंसिर १३ — नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भयो। कार्यक्रममा प्राधिकरणले प्रदेशभर बीमाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा बीमा क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सञ्चालन गरिएका कार्यक्रमबारे चर्चा–परिचर्चा गरियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक उपनिर्देशक सचिन राईले प्रदेशमा बीमा कार्यालय स्थापना भएपछि देखिएका सकारात्मक परिवर्तन, गलत अभ्यास निराकरणका प्रयास तथा नागरिकस्तरमा बीमाको पहुँच विस्तारका बारेमा प्रस्तुति दिए।

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले उद्योगी तथा व्यवसायीलाई बीमाको आवश्यकता र महत्व बुझाउन आवश्यक भएको बताए। कार्यक्रमका सहभागीहरूले अन्डर इन्सुरेन्स, बाँदरको आक्रमणबाट क्षति हुँदा बीमाको दायित्व, बीमा लेख नभएका बाली तथा पशु बीमा, अभिकर्ताद्वारा बढी बीमाङ्क राखेर गरिने बीमा निरन्तरताका समस्या, प्राधिकरणको नीति, र ओरिजिनल बीमा पोलेसी हराएमा गर्ने प्रक्रियासम्बन्धी प्रश्न उठाए।

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख प्रेमचन्द्र कुलुङ्गले उद्योगी तथा व्यवसायीलाई बीमाको आवश्यकता बुझाउने र उत्पादनमा हुने सम्भावित हानी–नोक्सानीबाट बच्न सम्बन्धित निकायसँग समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष सुनिता काफ्लेले बीमासम्बन्धी जनचेतना गाउँ–गाउँमा पुर्‍याउन सरकारी संयन्त्रले थप सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन्।

उठेका प्रश्नहरूको जवाफ दिँदै प्राधिकरण प्रमुख प्रिती देवले सम्पत्ति, भवन, स्टक, दुर्घटना तथा स्वास्थ्य बीमा जस्ता उपयुक्त योजना छनोट गर्न सुझाव दिइन्। साथै बीमा तालिम, गोष्ठी, बीमा मेला, रेडियो तथा सामाजिक सञ्जालमार्फत जनचेतना विस्तार, दाबी प्रक्रिया र उजुरी व्यवस्थाबारे जानकारीसमेत प्रदान गरिन्।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, जुत्ता, ग्रिल, अल्लो, सिलाइ–कटाइ, किराना, कृषि, अचार, होटल तथा फर्निचर व्यवसायी, बीमक प्रतिनिधि र होटल व्यवसायी संघका प्रतिनिधिसहित सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्