पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय



सुनसरी । सङ्खुवासभामा जन्मिएकी आचुङ्मा भोटे हिमाली चिसो हावापानी र भिरालो भू–परिवेशमै हुर्केकी थिइन् । तर विगत १६ वर्षदेखि उनी तराई झरेर जडीबुटी व्यवसायमै आत्मनिर्भर बनेकी छिन् । इटहरी–६ टेङ्ग्राखोला छेउको हटिया लाइनमा खुला आकाशमुनि विभिन्न जडीबुटी बिक्री गर्दै उनले स्थिर आय स्रोत बनाउन सफल भएकी छन्।

भोटेले जडीबुटी व्यवसायलाई पुर्खौली पेसा बताउँदै भनिन्, “जिजु–बाजेदेखि नै हामीले यही काम गरेका हौँ । पहाडमा अस्पताल र सडक सुविधा नहुँदा यही जडीबुटी नै औषधि थियो । त्यही ज्ञान बोकेर तराई आएँ र यही पेशालाई निरन्तरता दिँदै छु ।”

पहिला उनका पूरै परिवार हिउँद लागेपछि लेकाली जडीबुटी बोकेर महिनौँ तराई झर्थे । अहिले भने सडक पुगेसँगै गाउँमै व्यापार गर्न सजिलो भएको उनी बताउँछिन् । सुरुमा सहरको गर्मी असह्य लागे पनि पछि बिस्तारै बानी पर्दै व्यवसाय फस्टाएको अनुभव सुनाइन् । उनको दैनिकी अहिले ६ देखि १० हजार रुपैयाँ आम्दानी हुने गर्छ। आइतबारको हटिया दिन भने १५–२० हजार रुपैयाँसम्म कमाइ हुने बताइन्।

उनको स्टलमा करिब १०० भन्दा बढी जडीबुटी राखिएका छन् । ५ रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका सामग्री उपलब्ध छन्। देसी रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक सामग्री र किरात समुदायले साकेलामा प्रयोग गर्ने चौरीको पुच्छरसम्म बिक्रीमा छन्। शिलाजित, सुगन्धवाल, पदमचाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बा लगायतका जडीबुटी मुख्य रूपमा मागिन्छन्। “एकपटक किनेर लगेकाहरू फेरि फर्केर आउने गर्छन्, यही नै मेरो सफलताको आधार हो,” उनी भन्छिन्। हाल काठमाडौँ, विराटनगर, वीरगञ्ज, मोरङ, झापा लगायत ठाउँबाट फोन अर्डर आउने गरेको छ।

यही क्षेत्रमा १५ वर्षदेखि जडीबुटी व्यापार गर्दै आएकी पासाङ् ल्यामु भोटियाले पनि यो पेशाले नै आफूलाई आत्मनिर्भर बनाएको बताइन् । उनले भनिन्, “घरखर्चदेखि छोराछोरीको पढाइसम्म सबै यही व्यापारले धानेको छ । आम्दानीको भरपर्दो स्रोत यही हो।”

लेकमा जन्मेर तराई झरेका यी महिलाहरूलाई सुरुमा गर्मी र सहरको वातावरणले चुनौती दिए पनि अहिले उनीहरू व्यवसायमा जमिसकेका छन् । पासाङ् भन्छिन्, “यो हाम्रो पुर्खौली पेसा हो । अन्य काममा त्यति ज्ञान नभएकाले यही व्यवसायलाई अगाडि बढाएकी हुँ।” उनका अनुसार सङ्खुवासभा, भोटखोला लगायत हिमाली क्षेत्र र नेपालका अन्य ठाउँ तथा भारतबाट पनि जडीबुटी आउने गर्छ।

सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोला लगायत हिमाली क्षेत्रका शेर्पा र भोटे समुदायमा जडीबुटी सङ्कलन र व्यापार आज पनि परम्परागत पेसाकै रूपमा जीवित छ। महिनौँ कुम्लो बोकेर गाउँ–सहर डुल्ने पुरानो परम्परा हराउँदै गएको छ, तर यातायात र आपूर्तिको सहजताले अहिले गाउँमै बसेर पनि व्यापार फस्टाउँदै गएको व्यापारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्