
सिरहा । चुरे पर्वतको काखबाट बग्ने बेतहा खोलाको कटान र बाढीले लहान नगरपालिका–१५ स्थित करिब ८० घरधुरीको बेतहा बस्ती र स्थानीय आधारभूत विद्यालयलाई वर्षेनी ठूलो जोखिममा पार्दै आएको थियो । शान्त देखिने खोला वर्षा सुरु हुनेबित्तिकै रौद्र रूप लिँदै विद्यालयको चौर डुबाउने, कक्षाकोठा चिस्याउने र बस्तीभरि त्रास फैलाउने गर्थ्यो ।
विद्यालय भवन कहिले बग्ला भन्ने अनिश्चितताले विद्यार्थीदेखि शिक्षकसम्म त्रसित हुने अवस्था थियो । प्रधानाध्यापक सुन्दरलाल चौधरी भन्छन्, “खोलाले किनारा खाईदै ल्याउँदा विद्यालय नै जोखिममा थियो । वर्षा लागेपछि त पढाइ नै रोक्नुपर्थ्यो ।” खोला कटानले विद्यालयसँगै छेउमै रहेको ढोडना स्वास्थ्य चौकीको शाखालाई पनि हरेक वर्ष खतरा बढाउँदै आएको थियो ।
यस वर्ष भने दृश्य बद्लिएको छ । बस्तीलाई जोगाउने सामुदायिक प्रयासले नयाँ आशा जगाएको छ—जैविक तटबन्ध । करिब छ महिनाअघि लहान नगरपालिकाको समन्वयमा केयर नेपाल, फेकोफन, राष्ट्रिय कृषक समूह महासङ्घ तथा स्थानीयको सामूहिक श्रमदानमा यहाँ तीनवटा जैविक तटबन्ध निर्माण गरिएको हो ।
बर्खा सुरु हुनु अघि नै बाँस, घाँस, बिरुवा तथा स्थानीय प्रजातिका बोटबिरुवा रोपेर नदी किनार मजबुत बनाइएको थियो । फेकोफनका कार्यक्रम अधिकृत टेकेन्द्र साह भन्छन्, “जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री विकल्प भएकाले यसलाई प्राथमिकता दिइएको हो ।”
केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदिश भट्टका अनुसार, न्यूनतम बजेट र स्थानीय श्रमदानमै बनेका यी तटबन्धले पहिरो नियन्त्रणमा समेत प्रभावकारी भूमिका खेलेका छन् ।
वडा नं १५ का अध्यक्ष तेजनारायण चौधरीका अनुसार, यस विधिले प्रभाव देखाएपछि अब अन्य जोखिमयुक्त स्थानमा पनि यही मोडेल लागू गर्ने योजना अघि बढाइएको छ ।
स्थानीयहरू वर्षौँदेखि भोग्दै आएको कटानको त्रासबाट अब भने मुक्त हुँदैछन् । जैविक तटबन्धले सुरक्षित महसुस गराएको स्थानीय विचारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर तामाङ्ग भन्छन्, “समुदायको एकता र मेहनतले खोला नियन्त्रणमा आउन सक्छ भन्ने प्रमाणित भएको छ । अब हाम्रो बस्ती सुरक्षित रहने विश्वास पलाएको छ ।”
जैविक तटबन्धले बाढी–पहिरो जोखिम घटाउनुका साथै वातावरण संरक्षण, स्थानीय रोजगारी र भविष्यमा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सिरहाका सचिव रुद्र नारायण चौधरी बताउँछन् ।





