
दुबई । लन्डनमा आधारित एक अधिकार समूहले संयुक्त अरब इमिरेट्स (युएई) मा हिरासतका क्रममा एक व्यक्तिको मृत्यु भएको घटनामा छानबिन गर्न आग्रह गरेको छ। समूहले मृत्यु भएका ५९ वर्षीय अल–खाजालाई ‘राजनीतिक बन्दी’ का रूपमा उल्लेख गरेको छ।
एमिरेट्स डिटेनी एडभोकेसी सेन्टर (इडिएसी) का कार्यकारी निर्देशक हमद अल–शम्सीका अनुसार झन्डै १३ वर्ष जेलमा बिताएका अल–खाजा यसै महिनाको सुरुवातमा आफ्नै कोठामा मृत फेला परेका थिए। “अनुचित सुनुवाइ र कठोर कारागार अवस्था” का कारण उनको मृत्यु भएको उनीहरूका आलोचकहरूको दाबी छ।
खजालाई सन् २०१३ मा मुस्लिम ब्रदरहुडसँगको सम्बन्ध रहेको आरोपमा सामूहिक मुद्दामार्फत सजाय सुनाइएको थियो, जुन खाडीका धेरै देशहरूमा गैरकानुनी घोषित संगठन हो। अधिकारकर्मीहरूले उक्त मुद्दालाई लामै समयदेखि विवादास्पद भन्दै आलोचना गर्दै आएका छन्। ‘ह्युमन राइट्स वाच’ का अनुसार सजाय पूरा गरे पनि उनलाई सन् २०२२ मा जेलमै राखियो र फेरि २०२३ मा नयाँ आरोप थपेर थप सजाय सुनाइयो।
“उनले भोगेका गम्भीर मानवअधिकार उल्लङ्घनलाई मध्यनजर गर्दै इमिरेती अधिकारीहरूले उनको मृत्युबारे स्वतन्त्र र पारदर्शी छानबिन सुरु गर्न आवश्यक छ,” शम्सीले एएफपीसँग बताए। सोधिएको टिप्पणीबारे युएई अधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन्।
इडिएसी र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ कि अल–खाजामाथि कैद अवधिभर “शारीरिक कुटपिट, लामो एक्लो कारावास र निन्द्रा रोक्नका लागि निरन्तर चम्किलो बत्ती प्रयोग गरी यातना” गरिएको आरोप छ।
शम्सीका अनुसार यो घटना एक्लै छैन, “यो युएईमा मानवअधिकारकर्मीहरूलाई लक्षित गर्ने व्यापक प्रवृत्तिको हिस्सा हो।”
समृद्ध खाडी राष्ट्र युएईले नेतृत्वविरुद्धको आलोचनालाई कडा रूपमा निषेध गर्दछ। सार्वजनिक वा निजी रूपमा गरिएको टिप्पणीले मानहानिको आरोप लागेर जरिवाना वा जेल सजाय भोग्नु पर्ने अवस्था आउन सक्छ। सन् २०१२ को अरब वसन्त आन्दोलनपछि इमिराती अधिकारीहरूले राजनीतिक सुधारको माग उठाउनेहरू विरुद्ध व्यापक धरपकड अभियान चलाएका थिए।





