पनौतीमा पशुधन बिमा कार्यक्रमबाट ४ हजारभन्दा बढी किसान लाभान्वित



काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा सञ्चालित पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा धेरै किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रम नगरपालिकाका १२ वटै वडाका किसानलाई समेट्दै प्रभावकारी रूपमा अघि बढिरहेको छ।

कार्यक्रममार्फत नगरका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसलगायतका पशुपन्छीको बिमा गरिएको छ। नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट चार हजार ४८ किसानले बिमा कार्यक्रममा सहभागिता जनाएका छन्। किसानले व्यक्तिगत रूपमा पशु बिमा गर्दा करिब रु १,४०० देखि १,५०० सम्म खर्च हुने गरेको शाखाले जनाएको छ।

पनौती नगरपालिकाका तथ्याङ्कअनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, ६ हजार भैँसी, ५०० बङ्गुर तथा करिब एक लाख पन्छी रहेका छन्। तीमध्ये हालसम्म पाँच हजार २८१ गाई, दुई हजार २३१ भैँसी, पाँच हजार ७८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गराइएको छ।

नगरपालिकाका शाखा प्रमुख दिपिकाका अनुसार अहिलेसम्म २०० पशुको बिमा दाबी भुक्तानी भइसकेको छ। यसअघि नगरले ‘भैँसी संरक्षण सम्बर्द्धन अभियान’ अन्तर्गत प्रत्येक भैँसीमा रु ५ हजार सहयोग तथा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमसमेत सञ्चालन गरेको थियो। नगर क्षेत्रमा भैँसीको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि संरक्षण र प्रवर्द्धनका कार्यक्रम विस्तार गरिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्