प्रधानमन्त्री कार्कीद्वारा जङ्गी अड्‍डाको निरीक्षण, निर्वाचन सुरक्षाबारे निर्देशन



काठमाडौँ । प्रधानमन्त्री तथा रक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आएकी सुशीला कार्कीले मङ्सिर १२ गते जङ्गी अड्‍डाको निरीक्षण भ्रमण गरेकी छन्। भ्रमणका क्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले प्रधानमन्त्री कार्की र टोलीलाई स्वागत गरेका थिए।

जङ्गी अड्‍डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाको वर्तमान गतिविधि, समग्र सुरक्षा तयारी तथा आगामी फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक संवेदनशीलता तथा सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइएको थियो। प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षा सुनिश्चित गर्न नेपाली सेना सहित सबै सुरक्षा निकायहरूले घनिष्ठ सहकार्य र प्रभावकारी समन्वयका साथ काम गर्न निर्देशन दिएकी छन्।

कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव सुमन राज अर्याल, नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष, निमित्त रक्षा सचिव, रथीबृन्द तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्