षडानन्द नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न



भोजपुर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिकामा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू, कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क तथा प्रक्रिया, जीवन बीमाका बचत तथा लगानी पक्ष, साथै कर्मचारीहरूलाई तोकिँदै आएका लक्ष्य (टार्गेट) लगायतका विषयमा सहभागीहरूले प्रश्न राखेका थिए।

अन्तरक्रियामा बोल्दै षडानन्द नगरपालिकाकी उप–प्रमुख प्रमिला राईले बीमाबारे अधिकांश नागरिक अवगत भए पनि यसको प्रभावकारी विस्तारका लागि स्थानीय तह स्वतःस्फूर्त रूपमा सक्रिय हुन आवश्यक रहेको बताइन्। बीमाका शर्त, प्रक्रिया र सुविधाबारे स्पष्ट जानकारी दिनुपर्ने, कर्मचारी तथा अभिकर्ताबाट हुन सक्ने गलत अभ्यास रोक्न कडा नियमन आवश्यक रहेको र मध्यस्थकर्ताद्वारा हुने अनियमिततामाथि कानुनी कारबाही गर्न सकिनेप्रति उनले ध्यानाकर्षण गराइन्।

उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका प्रमुख प्रती देवले बीमा सेवा केवल लाइसेन्स प्राप्त कम्पनी वा अधिकृत व्यक्तिमार्फत मात्र लिन सहभागीहरूलाई आग्रह गरिन्। दाबी दर्ताका बेला घटनाको यथार्थ विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने, बीमासम्बन्धी उजुरी पनि अनलाइन माध्यमबाट दर्ता गर्न सकिने व्यवस्था रहेकाले सहज सेवा पाइने जानकारी उनले दिइन्। कृषि बीमामा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको उल्लेख गर्दै निजीबीमा दाबी भुक्तानीमा क्षति मूल्यांकनका कारण केही समय लाग्न सक्ने भएकाले धैर्य राख्न समेत उनले अनुरोध गरिन्।

कार्यक्रममा नगर उप–प्रमुख प्रमिला राई प्रमुख अतिथिका रूपमा सहभागी रहेको कार्यक्रम वडा नं. ३ का अध्यक्ष साङ देम्बा राई, वडा नं. ९ का अध्यक्ष ङिमा शेर्पा, वडा नं. ८ का अध्यक्ष सुवास तामाङ, प्रस्तुतकर्ता सचिन राई, कार्यक्रम सञ्चालक मिलन पोखरेल तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्