एउटै गोठमा ५७ वैदिक गाईको संरक्षण



बागलुङ । बागलुङको मालिकामा एउटै स्थानमा ५७ वटा स्थानीय प्रजातिका वैदिक गाई संरक्षणमा राखिएका छन् । हिन्दू धर्ममा भगवान्को स्वरूप मानिने स्थानीय गाईको संरक्षणका उद्देश्यले ‘गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र’ सञ्चालनमा ल्याइएको हो ।

विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको उक्त संरक्षण केन्द्र बागलुङ नगरपालिका–५ मालिकामा स्थापित गरिएको हो । अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्माण गरिएको केन्द्रको सुरुआत पर्वत जिल्लाको धाइरिङस्थित गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमार्फत ल्याएर गरिएको थियो । हाल केन्द्रमा एउटा साँढेसहित ५७ गाई छन् ।

स्थानीयको निःशुल्क उपलब्ध ८२ रोपनी जग्गामा करिब आठ लाख रूपियाँ लागतमा संरचना निर्माण गरिएको छ । अध्यक्ष गोविन्दप्रसाद आचार्यका अनुसार स्थानीय प्रजातिका गाई संरक्षणसँगै गाईको गहुँत प्रशोधन गरी आयुर्वेदिक औषधि उत्पादन गर्ने तयारीसमेत केन्द्रले गरिरहेको छ ।

अध्यक्ष आचार्य भन्छन्, “यहाँ गाईलाई बिहान एकपटक मात्र, त्यो पनि बाच्छाबाच्छी अघाएपछि दुहिन्छ । बाच्छाबाच्छीलाई दाम्लोमा नबाँधेर चौबीसै घण्टा खुला छोडिन्छ । मुक्तिनाथ बाबाको इच्छाअनुसार बिहान एक छाक दूध मात्रै दुहुने चलन छ, साँझमा दुहिँदैन ।” थोरै मात्रामा उत्पादित दूधबाट बनेको घ्यू पूजापाठमै प्रयोग गरिन्छ ।

जर्सी गाईको बढ्दो प्रचलनसँगै स्थानीय प्रजातिका गाई गाउँघरमा दुर्लभ बन्दै गएका बेला संरक्षण केन्द्रमा गाईको संख्या बढ्दो हुँदा धार्मिक पर्यटकसमेत आकर्षित हुन थालेका छन् । पञ्चकोट घुम्न जाने धेरै पर्यटक अब गौवंश संरक्षण केन्द्र पनि अवलोकन गर्न आउने पञ्चकोट विकास परिषद् बागलुङका अध्यक्ष जगन्नाथ आचार्य बताउँछन् ।

अध्यक्ष आचार्यका अनुसार तिहारको गाईपूजामा केन्द्रमा ठूलो भीड लाग्यो र डेढ लाख रूपियाँ भेटी संकलन भयो । एकै ठाउँमा धेरै वैदिक गाई भएकाले तिहार मात्र नभई अन्य समयमा पनि पाठपूजा, वैतरणी गर्न आउनेको संख्या बढ्दो छ । गाईको गहुँत लिन आउनेहरूको संख्या पनि पछिल्ला वर्षमा बढेको छ । केन्द्रका गाईलाई कृत्रिम गर्भाधान गराइँदैन । निकट भविष्यमा गाईको गोबरबाट धूप उत्पादन गर्ने योजना समेत रहेको छ ।

पञ्चकोट विकास परिषद्को सहयोगमा सञ्चालन हुँदै आएको संरक्षण केन्द्रमा गाईको रेखदेखका लागि पाँच जना गौसेवक खटिएका छन् । घाँस काट्ने, गोबर सोर्ने, दानापानी खुवाउने काममा संलग्न गौसेवकको पारिश्रमिक परिषद्ले उपलब्ध गराउँछ । केन्द्रका गाईलाई बागलुङ, काठेखोला, जैमिनी र पर्वतका स्थानीयवासीले निःशुल्क पराल उपलब्ध गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्