पहिलो जितले टिमको मनोबल उच्च बनेको छ : विपिन खत्री



काठमाडौँ । पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दर्ता गर्दै प्रतियोगितामा विजयको खाता खोलेको छ।

साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले लिगमा पहिलो दुई अंक जोड्न सफल भएको हो। लगातार दुई खेलमा पराजय व्यहोरेपछि आएको यस जितले टोलीमा नयाँ ऊर्जा थपेको छ।

जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका बलर विपिन खत्रीले बिहीबारको सफलताले टिमको मनोबल उल्लेखनीय रूपमा उकासेको बताए। “सुरूका दुई खेल हारिँदा मानसिक दबाब थियो। आज आएको पहिलो जितसँगै टिममा आत्मविश्वास बढेको छ,” उनले भने।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट हात पारेका खत्रीले आगामी प्रतिस्पर्धाहरूमा पनि टोलीले सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरे। “अझै चार खेल बाँकी छन्। ती सबैमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफसम्म पुग्नु नै हाम्रो लक्ष्य हो,” उनले जोड दिए।

तेस्रो खेलमा समेत पराजित जनकपुरका कप्तान अनिल शाह भने प्लेअफ यात्राबारे अझै आशावादी छन्। लगातारको हारले मनोबल कमजोर बनेको स्वीकार गर्दै उनले भने, “अझै चार खेल बाँकी छन्। सम्पूर्ण खेल जितेर प्लेअफमा स्थान बनाउन प्रयास जारी राख्नेछौं।”

प्रतिक्रिया दिनुहोस्