‘कांग्रेस नेता प्रधान होइन, नीति प्रधान पार्टी हो’



काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस व्यक्तिवादी होइन, नीति र सिद्धान्तमा आधारित पार्टी भएको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियु परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले हाल केही व्यक्तिहरूले “म भए मात्र कांग्रेस बच्छ” भन्ने भ्रम फैलाउँदै पार्टीलाई नेता–प्रधान बनाउन खोजेको टिप्पणी गरे। राठौरका अनुसार यस्तो प्रवृत्तिले कांग्रेसको मूल विचार, सिद्धान्त र निष्ठालाई कमजोर पार्ने भएकाले सबैले नीति–विचारलाई अग्रस्थानमा राखेर अघि बढ्न आवश्यक छ।

राठौरले बिपी कोइराला, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले स्थापना गरेको कांग्रेसमा समय–समयमा थुप्रै नेता आएका–गएका भए पनि पार्टीको अस्तित्व विचार र सिद्धान्तमै टिकेको बताए। उनका अनुसार कांग्रेस कुनै एक व्यक्तिको पार्टी होइन, बरु देशभरका मजदुर, किसान, महिला तथा विभिन्न वर्ग–समुदायको साझा आस्थाको घर हो।

उनले नीति र सिद्धान्तलाई प्राथमिकता दिएर अघि बढे मात्र कांग्रेस एकढिक्का भई सबै प्रकारका समस्याको समाधान गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्