बहुमतसहित देशलाई रूपान्तरणको मार्गमा अघि बढाउँछौँ : हर्क साम्पाङ



ताप्लेजुङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा रहेको भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण अपेक्षित परिवर्तन हुन नसकेको बताएका छन्। बिहीबार ताप्लेजुङमा आयोजित पार्टीको कार्यक्रममा उनले बढ्दो भ्रष्टाचार, श्रमप्रतिको सम्मानको अभाव र विभेदपूर्ण व्यवहारले मुलुकको विकास रोकिएको जिकिर गरे।

साम्पाङका अनुसार श्रम संस्कृति पार्टीले आगामी निर्वाचनमा बहुमत प्राप्त गरी मुलुकलाई परिवर्तनको मार्गतर्फ अघि बढाउने लक्ष्य राखेको छ। विदेशी स्वार्थ वा दबाबमा नचल्ने, नेपालको भूमि र पहिचानको रक्षा गर्ने, श्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने तथा शिक्षामा व्यावहारिक सुधार लागू गर्ने विषय पार्टीका प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारे।

जनताको जीतका लागि श्रमको सम्मान, व्यावहारिक शिक्षा र सरल जीवनशैलीलाई आधारित बनाएर मुलुकलाई समृद्धितर्फ लैजान पार्टी प्रतिबद्ध रहेको साम्पाङले बताए। श्रम संस्कार, संस्कृति र प्रविधिको विकास गर्दै अघि बढ्नु नै आफ्नो पार्टीको दीर्घकालीन लक्ष्य रहेको उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्