
नेपालगञ्ज । रत्न राजमार्ग क्षेत्रमा अवैध रूपमा बनेका घर टहरा हटाउने काम नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबारदेखि सुरु गरेको छ।
उपमहानगरले बिपीचोकदेखि धम्बोझी चोकसम्म राजमार्गको दायाँ–बायाँ २१ मिटरभित्र पर्ने अतिक्रमित संरचना हटाउने कार्य अघि बढाएको हो।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार सो क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउने प्रक्रिया सुरू गरिएको हो। उनले हरियाली प्रवर्द्धनका लागि रुख–बिरुवा रोपिने र डेढ वर्षभित्र गणेशमान चोक–बिपीचोक र धम्बोझी चोक–पुप्पलाल चोकसम्म आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्ने योजना रहेको बताए।
करिब रु ४९ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भएको परियोजनाअन्तर्गत हाल बिपीचोक–धम्बोझी चोक क्षेत्रमा अतिक्रमण हटाउने काम जारी छ। यसअघि उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न सम्बन्धितलाई अनुरोध गरेको थियो।





