भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्ष जेल सजाय



ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीन मुद्दामा ढाकास्थित एक विशेष अदालतले २१ वर्षको जेल सजाय सुनाएको छ। विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्षका दरले सजाय तोकेका हुन्।

बङ्गलादेशको भ्रष्टाचार विरुद्धको आयोग (एसीसी) ले गत जनवरीमा शेख हसिना र उनका परिवारका सदस्यहरूविरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। बाँकी तीन मुद्दाको फैसला आगामी डिसेम्बर १ मा सुनाइनेछ।

अदालतले हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्ष कैद र एक लाख टाका जरिवाना तोकेको छ। छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ।

यसअघि, बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले सन् २०२४ जुलाईमा सरकार विरोधी आन्दोलन दमनका क्रममा मानवता विरुद्धका अपराधमा संलग्न रहेको ठहर गर्दै शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। मानव अधिकार उल्लङ्घन भएको भन्दै आइसिटीले कडाइका साथ कारबाही गरेको हो।

प्रतिक्रिया दिनुहोस्