
कोलम्बो । श्रीलङ्कामा निरन्तर परेको भारी वर्षा र पहिरोका कारण ३१ जनाको ज्यान गएको छ। साथै १४ जना अझै बेपत्ता रहेको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बिहीबार जानकारी दिएको छ। भीषण बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका छन्।
डीएमसीको पछिल्लो प्रतिवेदनअनुसार चरम मौसमी घटनाले १७ जिल्ला प्रभावित बनेका छन्। एक हजार १५८ परिवारका करिब चार हजार व्यक्ति प्रत्यक्ष प्रभावित भएको उल्लेख छ। प्रकोपमा १० जना घाइते भएका छन् भने तीन घर पूर्णरूपमा ध्वस्त र ३८१ घर आंशिक क्षतिग्रस्त भएका छन्। कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको छ।
सबैभन्दा बढी क्षति बदुल्ला जिल्लामा भएको छ, जहाँ १८ जनाको मृत्यु पुष्टि गरिएको छ। त्यस्तै केगालेमा ७, नुवारा एलियामा ४, र हम्बनटोटा तथा कुरुनेगलामा एक–एक जनाको मृत्यु भएको डीएमसीले जनाएको छ।
अधिकारिहरूका अनुसार अविरल वर्षाले मध्य तथा पहाडी क्षेत्रमा थप बाढी र पहिरोको जोखिम बढेको छ। केही स्थानमा सडक अवरुद्ध भएको छ भने प्रमुख सडक मार्ग पनि बन्द भएका छन्। जोखिम बढ्दै गएपछि परीक्षा विभागले बिहीबारदेखि शनिबारसम्मका विश्वविद्यालय परीक्षा स्थगित गरेको छ।
उच्च जोखिम क्षेत्रहरूमा खोजी र उद्धार कार्य तीव्रगतिमा जारी रहेको छ। सरकारले नागरिकलाई सतर्क रहन, जोखिम क्षेत्रबाट टाढा बस्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।





