
विराटनगर, ११ मंसिर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र जेनजी आन्दोलनपछि जारी बहसबारे स्पष्ट प्रतिक्रिया व्यक्त गर्दै महाधिवेशनको समयबारे देखिएको विवादमा डा. शेखर कोइरालाको अडान मात्रै प्रस्ट रहेको बताएका छन्।
बिहीबार विराटनगरस्थित कंचनजंगा पार्टी प्यालेसमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समितिको आठौं केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै गुरुङले भदौ २२ को केन्द्रीय समिति बैठकलाई स्मरण गर्दै भने, “डा. शेखर कोइराला बाहेक कसैले पनि २०८२ सालभित्रै महाधिवेशन गर्नुपर्छ भन्नेमा अडान लिनुभएन। उहाँले मात्रै २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने कुरा बारम्बार दोहोर्याउनुभयो। अरू सबै पद एक वर्ष बढ्ला कि भन्ने आशंकामा मौन बसे।”

उनका अनुसार जेनजी आन्दोलनपछि शुरु भएको आन्तरिक बहस भदौ २२ अगाडि नै उठेको भए ‘नियमित समयमा महाधिवेशन गरौं’ भन्ने मागलाई जायज ठहरिन सक्थ्यो। तर आन्दोलनपछि मात्र उठेकाले अहिलेको बहसको औचित्यमाथि प्रश्न रहेको उनले बताए।
“सिंहदरबारमा आगो लगाउने जेनजी होइन, अस्थिरता सिर्जना गर्ने तत्व”
गुरुङले भदौ २२ को जेनजी आन्दोलनलाई स्मरण गर्दै सिंहदरबारलगायत संरचनामा आगजनी गर्नेहरू जेनजी नभई देशमा निरन्तर अस्थिरता फैलाउन खोज्ने तत्व भएको टिप्पणी गरे। उनले भने, “सिंहदरबारमा आगो लगाउने जेनजी होइनन्, त्यसका पछाडि देश अस्थिर बनाउन खोज्ने शक्तिहरू छन्।”

उनका अनुसार २०६२ सालअघिको अवस्थासँग तुलना गर्दा वर्तमान विकास–साधनस्रोत विस्तार व्यापक भए पनि जनतामाझ निराशा फैलाइ देश अस्थिर बनाउने मनसायले नकारात्मकता मात्रै बढाइएको छ।
“निर्वाचन प्रणालीले निकास दिँदैन, संविधान संशोधन अनिवार्य”
उपसभापति गुरुङले अबको निर्वाचनले देशलाई निकास नदिने दाबी गर्दै संविधानका निश्चित बुँदा संशोधन नगरी पुनः निर्वाचनमा जान नहुने स्पष्ट मत राखे। “जेनजी आन्दोलनपछि तय गरिएको फागुन २१ को निर्वाचन पनि यही प्रणालीमै हुने हो भने देशलाई समाधान मिल्दैन,” उनले भने, “पहिले संसद् केही दिनका लागि खुला गरौं, संविधानका आवश्यक बुँदा संशोधन गरौं, त्यसपछि मात्रै निर्वाचनमा जाऔं।”
उनका अनुसार वर्तमान प्रणालीले समाधान दिन सक्ने भए जेनजी आन्दोलन नै हुने थिएन, त्यसैले संविधान संशोधन अपरिहार्य छ।
राजनीतिक सहमतिको अपरिहार्यता
देश गम्भीर संकटमा रहेको भन्दै उनले यस अवस्थाबाट निस्कन सबै राजनीतिक दल एकताबद्ध हुनैपर्ने आवश्यकता औंल्याए। “यस संकटमोचनका लागि सबै दल एक ठाउँमा बस्नैपर्छ,” उनले जोड दिए।
गुरुङले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्किएको र यस्तो अवस्थामा निर्वाचन सम्भावना अत्यन्त न्यून देखिएको बताएका छन्। त्यसैले सबै राजनीतिक दल एउटै थलोमा बसेर समाधान खोज्नुपर्ने उनको निष्कर्ष थियो।





