
काठमाडौं । काठमाडौंमा सुकुटी बोकेर घर फर्किरहेकी महिलामाथि लुटपाट गरी फरार बनेका अभियुक्तमध्ये एक जना पिस्टलसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ७ गते बेलुका ८:४८ बजे नागार्जुन नगरपालिका–३, ठूलो भैँसेस्थित सडक खण्डमा घरतर्फ जाँदै गरेकी महिलालाई २ जनाको समूहले करिब १.५ तोला सुन लुटपाट गरेर फरार भएका थिए।
घटनापछि प्रहरीले व्यापक खोजतलास चलाउँदै मंसिर ९ गते राति करिब ८:०० बजे तारकेश्वर नगरपालिका–८ बाट एक जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ। पक्राउ परेको व्यक्ति काठमाडौं–७, बोझेगाउँको बसोबास गर्दै आएका हुन्।
पक्राउ परेकासँग बरामद सामग्री
प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट तल उल्लेखित अवैध हतियार तथा सामग्री बरामद गरिएको छः
- ७.६५ एमएम ‘७७११०’ लेखिएको अटो पिस्टल – १
- पिस्टलको म्यागजिन – १
- पिस्टलका गोली – ६
- खुकुरी – १
- स्क्रू–ड्राइभर – १
- हातमा लगाएको औँठी – १
- लुटपाटमा प्रयोग भएको कालो डियो स्कुटर (प्रदेश ३–०२–००४ प ५४७९) – १
- लुटपाटमा प्रयोग भएका कपडा, जुत्ता, हेल्मेट
- स्कुटरको नम्बर प्लेट (प्रदेश ३–०२–००४ प ३५४५) – १
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएको छ।
घटनामा संलग्न अर्को फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





