
काठमाडौं । काठमाडौंको तारकेश्वर क्षेत्रमा महिलालाई लक्ष्य बनाएर ब्याग लुटपाट गर्दै आएका एक समूह ४ जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले लुटपाटमा प्रयोग भएको सामान तथा चोरीका वस्तुहरूसहित नियन्त्रणमा लिएको छ।
मंसिर ८ गते साँझ ५:१५ बजे तारकेश्वर–११, नेपालटारस्थित सडकखण्डमा घर फर्कदै गरेकी महिलाबाट नगद, मोबाइल, बैंकका चाबी र महत्वपूर्ण कागजातहरू रहेको लेडीज ब्याग मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले लुटपाट गरेका थिए।
उनीहरूको खोजीका क्रममा अर्को दिन मंसिर ९ गते दिउँसो ११ बजे तारकेश्वर–८, सुकुम्बासी टोलबाट ४ जना पक्राउ परेका हुन्। पक्राउपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तीनवटा लुटपाटमा संलग्नता खुलेको
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले विभिन्न मितिमा मोटरसाइकलमा आएर महिलाको झोला ‘स्न्याचिङ’ गर्ने कार्य गर्दै आएका थिए। हालसम्म उनीहरूबाट ३ वटा लेडीज ब्याग लुटपाट भएको उजुरी परेको छ।
पक्राउ पर्नेहरूको विवरण
- ईश्वर बुढाथोकी (२७) – स्याङ्जा, वालिङ–११ दोंवा घर, हाल तारकेश्वर–४
- बिशाल राई (२०) – नुवाकोट, गोस्याङ घर, हाल तारकेश्वर–४
- साजन तामाङ (१८) – नुवाकोट, किस्पाङ गाउँपालिका, हाल तारकेश्वर–८
- समिर तामाङ (१९) – नुवाकोट, चौगाडा घर, हाल तारकेश्वर–८
लुटपाटबाट बरामद सामान
प्रहरीले उनीहरूबाट तलका सामानहरू बरामद गरेको छ:
- २ थान लेडीज ब्याग
- ११ थान विभिन्न मोबाइल सेट
- चाबीका झुप्पा ५ थान र छुट्टा चाबी ४ थान
- नागरिकता प्रतिलिपि, बैंक आइडी, नागरिक लगानी कोष कार्ड
- १ थान लेडीज हाते पर्स
- २ थान गरगहना राख्ने ब्याग
- पोते १ थान
- झुम्का र टप (सुनजस्तो देखिने)
- नगद रु. २,५०५
- टिफिन बक्स, कस्मेटिक, पेन ड्राइभ, एटीएम कार्ड, प्यान कार्ड, इयरफोनलगायत अन्य सामग्रीहरू
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई थप लुटपाटका घटनाबारे पनि अनुसन्धान भइरहेको छ।





