किड्जी प्रि–स्कुलले भैँसेपाटीमा वाकाथन सम्पन्न, ‘स्क्रिन होइन–खेलौँ, हिँडौँ’ नाराको प्रवद्र्धन



काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित किड्जी प्रि–स्कुलले स्वस्थ र सक्रिय बाल्यकाल प्रवद्र्धन गर्ने उद्देश्यसहित वाकाथन कार्यक्रम सम्पन्न गरेको छ। ‘खेलौँ, हिँडौँ, स्क्रिन होइन’ भन्ने मूल नारासहित आयोजित वाकाथन भैँसेपाटी चोकबाट सुरु भई नयाँ बजारसम्म सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा स्कुलका बालबालिका, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। वाकाथनले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र अत्यधिक बढ्दै गएको स्क्रिन प्रयोगलाई कम गर्न मद्दत गर्ने उद्देश्य लिएको विद्यालयकी को–अर्डिनेटर सागरिका भण्डारीले जानकारी दिइन्।

उनका अनुसार डिजिटल माध्यमको अत्यधिक प्रयोगले बालबालिकाको विकासमा पर्ने असरलाई न्यूनिकरण गर्न तथा उनीहरूलाई शारीरिक सक्रियतामार्फत आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन यस्ता गतिविधि आवश्यक छन्।

अभिभावकहरूले समेत विद्यालयको यो पहलको प्रशंसा गर्दै वाकाथनले बालबालिकाको दैनिकी र स्क्रिन समयबारे पुनर्विचार गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्