
काठमाडौँ, कीर्तिपुर —
काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आगामी खेलमा विशेष सामाजिक सन्देशयुक्त जर्सीसहित मैदानमा उत्रिने भएका छन्।
पोखरा एभेन्जर्सका खेलाडीहरू ‘ग्लासियर्स म्याटर’ सन्देशसहित हरियो रङको जर्सीमा देखिने छन्। नेपाललाई जलवायु जोखिममा रहेको मुलुक मान्दै हिमनदी संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले जर्सी विशेष डिजाइन गरिएको एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले जानकारी दिए। उनका अनुसार जलवायु परिवर्तनका कारण हिउँ पग्लने, नयाँ हिमताल बन्ने तथा हिमताल फुट्ने जोखिमका बीच हिमनदी संरक्षण अभियानलाई जोड दिन यो पहल गरिएको हो।
त्यस्तै, जनकपुर बोल्ट्सका खेलाडीहरू गुलाबी रङको जर्सीसहित मैदानमा उत्रिनेछन्, जुन सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित रहनेछ।
खेलपछि दुवै टोलीले आफ्ना विशेष जर्सीहरू च्यारिटी अक्सनमार्फत बिक्री गर्नेछन्। अक्सनबाट प्राप्त रकममध्ये पोखरा एभेन्जर्सको जर्सी बिक्रीबाट उठेको रकम ‘ग्लासियर्स म्याटर’ जागरण अभियानमा खर्च गरिनेछ भने जनकपुर बोल्ट्सको जर्सीबाट संकलित रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूलाई सहयोग प्रदान गर्ने उद्देश्य राखिएको छ।
यस अभियानले खेलकुदमार्फत सामाजिक उत्तरदायित्व र मानवीय संवेदना अभिव्यक्त हुने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।





