शहीदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न



धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा धनकुटाको शहीदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भयो। स्थानीय तहमा बीमाको पहुँच, दाबी प्रक्रिया, अनुदान व्यवस्था र विद्यमान चुनौतीबारे विस्तृत छलफल गरिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले बीमाका विभिन्न पक्षबारे प्रस्तुतीकरण सहित जानकारी दिए। सहभागीहरूले सरकारी भवन बीमाका दर र आधार, अभिकर्तामार्फत हुन सक्ने ठगी, पशु बीमामा प्रदेशगत औषधि वितरणका भिन्न व्यवस्था, तथा तेस्रो पक्ष मोटर बीमाको दाबी भुक्तानी चरणबद्ध गर्न सकिने विषयमा जिज्ञासा राखे।

कार्यक्रमका प्रमुख अतिथि तथा शहीदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले बीमा सम्बन्धी सूचनाहरू कृषक र सर्वसाधारणसम्म पुग्न आवश्यक रहेको उल्लेख गर्दै बाली, पशु तथा भवनसहित सबै संरचनाको बीमा सम्भव भएकाले यसको प्रचार–प्रसार आवश्यक रहेको बताए। गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पर्ने बताउँदै मानिसका साथै पशु, बाली र भौतिक संरचनाको बीमा गर्न सुझाव दिइन्।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले अल्प समयमा बीमा प्रक्रिया र पहुँचबारे महत्वपूर्ण जानकारी प्राप्त भएको उल्लेख गर्दै यसलाई स्थानीय तहमा पुनः प्रसारण गर्ने प्रतिबद्धता जनाए।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवे बीमा सेवा केवल लाइसेन्स प्राप्त कम्पनी र अधिकृत व्यक्तिमार्फत मात्र लिन आग्रह गर्दै दाबी दर्ता गर्दा घटनाको यथार्थ विवरण अनिवार्य रूपमा दिनुपर्ने बताइन्। उनले बीमा सेवासम्बन्धी उजुरी अनलाइनमार्फत दिन सकिने व्यवस्था रहेको जानकारी दिँदै कृषिमा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने पनि बताइन्। निजीर्वन बीमामा क्षति मूल्यांकनका कारण केही समय लाग्न सक्ने हुँदा धैर्य राख्न पनि आग्रह गरियो।

कार्यक्रममा गाउँपालिकाका कर्मचारी, बीमक, अभिकर्ता तथा स्थानीयहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्