
झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । राहदानी (पासपोर्ट) जारी प्रक्रियामा बदनियतपूर्ण रूपमा नागरिकताको जन्ममिति हेरफेर गरी अनधिकृत विवरण थपेको आरोपमा उनीहरूविरुद्ध बुधबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार तत्कालीन प्रमुख आपागाईं, नायब सुब्बा रविनकुमार राजबंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहालमाथि मुद्दा दर्ता गरिएको हो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालसहित राहदानी बाहक विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुङ्गेल र बलराम महतोमाथि पनि भ्रष्टाचारको आरोप लगाइएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा राहदानी बाहकहरूका जन्ममितिमा हेरफेर गरिएको खुलेको आयोगले जनाएको छ ।
- विनोद कुँवर: नागरिकतामा १९७६/१०/१३ भए पनि राहदानीमा ५ वर्ष घटाई १९८१/१०/१३ राखिएको।
- सिमान्त विश्वकर्मा: नागरिकतामा २००४/०९/०३ भए पनि राहदानीमा २ वर्ष बढाई २००२/०९/०३ उल्लेख।
- गोविन्दप्रसाद ढुङ्गेल: नागरिकतामा १९८१/०७/२६ रहे पनि राहदानीमा ५ वर्ष घटाई १९८६/०७/२६ राखिएको।
- बलराम महतो: नागरिकतामा १९८२/१०/२४ भए पनि राहदानीमा ८ वर्ष घटाई १९९०/१०/२४ राखिएको।
आयोगले यस्तो अनधिकृत हेरफेरलाई नियोजित भ्रष्टाचारको संज्ञा दिँदै कानूनी कारबाही अघि बढाएको हो ।





