
जनकपुरधाम । मिथिलामा विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाम र आसपासका क्षेत्र अहिले पूर्णतः उत्सवमय बनेका छन् । धार्मिक पर्यटकहरूको आगमन बढेसँगै जानकी मन्दिर परिसरदेखि शहरका गल्ली–टोलसम्म विवाहका विभिन्न संस्कार र झाँकीको माहोल छाएको छ ।
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र माता सीताको विवाह भएको दिनको स्मरणमा प्रत्येक वर्ष मिथिलामा धुमधामका साथ विवाह पञ्चमी मनाइन्छ । मिथिलाबासीका लागि यो महोत्सव चाडभन्दा कम हुँदैन । घर–घरमा पूजाअर्चना, व्रत तथा धार्मिक अनुष्ठानको आयोजना हुन्छ भने स्थानीय महिलाहरू झ्याउँ–गीत, सोहर, परिहास गीत गाउँदै उत्सवलाई झनै जीवन्त बनाउँछन् ।
मिथिलाको मौलिक विवाह परम्परा
मिथिलामा आज पनि मटकोर, तिलकोत्सव, स्वयंवर, विवाह र रामकलेवाजस्ता पुराना विधिहरू पूर्ण रूपमा पालना गरिन्छ । राम–सीताको स्मरणमा दुई बालक–बालिकालाई प्रतीकस्वरूप प्रस्तुत गरी सम्पूर्ण विवाह प्रक्रिया झाँकीका रूपमा सम्पन्न गरिन्छ । यी विधिका हरेक चरणमा महिलाहरू भगवान् राम चन्द्रसँग परिहासपूर्ण गीत गाउँदै रमाइलो गर्ने परम्परा विशेष रूपमा प्रचलित छ ।
संस्कृतिविद् रेवतीरमण लालका अनुसार मिथिलामा भेना–साली, देवर–भाउजू बीचको रमाइलो परिहासलाई शुभ मानिन्छ । यही परम्परा राम–सीताको विवाहकथा सुहाउँदो बनेको मानिन्छ । एक चर्चित मैथिली गीतमा भनिन्छ—
“सखी हे ! रसे–रसे दुलहा चलै छथि कोना,
जेना कोल्हुआ के बरद घुमैअछि तेना ।।”
गीतमार्फत मिथिलानीहरूले हाँसेर भगवान् रामलाई समेत चुट्की लिने परम्परा राखेका छन् ।
सप्ताहव्यापी विवाह पञ्चमी उत्सव
जनकपुरको जानकी मन्दिर परिसरमा विवाह पञ्चमी एक सातासम्म विशेष रूपमा मनाइन्छ ।
- पहिलो दिन नगर दर्शन
- दोस्रो दिन फूलबारी लीला — जहाँ राम–सीताको पहिलो भेट भएको विश्वास गरिन्छ
- तेस्रो दिन धनुष यज्ञ, जसमा बाल–रामले प्रतीकात्मक रूपमा धनुष भाँच्ने संस्कार हुन्छ
- चौथो दिन तिलकोत्सव
- पाँचौँ दिन मटकोर
- छैटौँ दिन विवाह समारोह
- सातौँ दिन रामकलेवा गरी उत्सव सम्पन्न गरिन्छ
धनुष यज्ञको प्रसङ्ग मिथिलाको गर्व मानिन्छ । राजा जनकले शिव धनुष उचाल्न सक्ने वीर पुत्रलाई मात्र सीता दिने प्रण गरेपछि रामले सजिलै धनुष उचाली विवाह सम्पन्न गरेको प्रसंगलाई विशेष महत्व दिइन्छ ।
गीत, परिहास र सांस्कृतिक रौनक
हजारौँ धार्मिक पर्यटक, साधुसन्त र जन्तीको भीडबीच परिहास गीतहरू उत्सवको सबैभन्दा आकर्षक पक्ष मानिन्छ । महिलाहरू भारतीय सीमाबाट आएका जन्तीलाई लक्षित गर्दै मैथिलीमा अनेक हास्यमय गीत गाउने गर्छन् ।
उदाहरणस्वरूप, एउटा गीतमा भनिन्छ—
“हे पहूना ! एहि मिथिले रहु ना,
रोज सबेरे उबटन मलिक,
एक महीनाके भितर करियासँ गोर बनायब हे ।।”
झाँकी, डोला यात्रा र भीडभाड
राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट सीताको डोला बाजागाजासहित बाह्रविघा रङ्गभूमि मैदानमा पु¥याइन्छ । त्यहाँ भव्य स्वयंवर र विवाह विधि सम्पन्न गरिन्छ । भारत र नेपालका भक्तजनको बाक्लो उपस्थिति रहने यो क्षण जनकपुरको सबैभन्दा ठूलो आकर्षण हो ।
विवाह पञ्चमीको व्यापकता बढ्दै
पहिले मेलामात्र मानिने विवाह पञ्चमी अहिले मिथिलाको ऐतिहासिक–सांस्कृतिक पहिचान बोकेको महोत्सवमा परिणत भएको मैथिली अभियानी पुनम झा बताउँछिन् । प्रविधिको विकास र प्रचारप्रसारका कारण विवाह पञ्चमीको लोकप्रियता वर्षेनि बढिरहेको छ ।
गत वर्ष मात्रै विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले ११,१११ वर्गफुट क्षेत्रफलमा अनाजबाट राम–सीताको विशाल प्रतिमा निर्माण गरिएको थियो ।
तिरहुतिया गाछीको पुरानो कथा
पहिले विवाह पञ्चमी तिरहुतिया गाछीमा एक महिनासम्म चल्ने विशाल उत्सवका रूपमा मनाइन्थ्यो । अहिले उत्सव सात दिनमा सीमित भए पनि यसको भव्यता, सांस्कृतिक गहिराइ र धार्मिक महत्त्व झनै बढाइएको छ ।
अहिले अयोध्याबाट पनि आउँछन् जन्ती
पहिले केवल जनकपुरका डोला मात्र रहने परम्परा अहिले विस्तार भई अयोध्याबाट समेत पुजारी र भक्तजन जन्तीका रूपमा सहभागी हुने गर्छन् ।
मिथिलाको पहिचान–विवाह पञ्चमी
विवाह पञ्चमी केवल धार्मिक पर्व मात्र होइन, सम्पूर्ण मिथिला क्षेत्रको सांस्कृतिक गौरव हो । मिथिलाबासीका हाँसो, परिहास, गीत र परम्पराका बीच मनाइने यो उत्सव जनकपुरलाई वर्षभरि नै आकर्षणको केन्द्र बनाइरहन्छ ।





