दाङमा धान उत्पादन वृद्धि, यस वर्ष १ लाख ८६ हजार मेट्रिकटनभन्दा बढी



दाङ । दाङ जिल्लामा यस वर्ष धान उत्पादन उल्लेख्य रूपमा बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार चालु वर्ष १ लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा ३.०६२ प्रतिशत बढी हो।

जिल्लामा ३९ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमध्ये ३६ हजार ४८१ हेक्टर क्षेत्रमा यस वर्ष धान खेती गरिएको थियो। गत वर्ष ३६ हजार १०८ हेक्टरमा धान खेती हुँदै १ लाख ७८ हजार ५३ मेट्रिकटन उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यस वर्ष उत्पादन वृद्धि हुनुका कारणहरूमा खेती क्षेत्र विस्तार, गुणस्तरीय तथा हाइब्रिड बीउको प्रयोग, वर्षाको निरन्तरता तथा धानबाली स्याहार–सुसार गर्दा परेको पानीले असर नपुगेको आदि समावेश छन्।

उनका अनुसार धान बालीमा रासायनिक मल सहज रूपमा उपलब्ध हुनु र हाइब्रिड तथा उन्नत जातको बीउको प्रयोग बढ्नु पनि उत्पादन वृद्धिका प्रमुख कारण हुन्। यो वर्ष ६५ प्रतिशत हाइब्रिड, ३५ प्रतिशत उन्नत र पाँच प्रतिशत स्थानीय जातका धान रोपाइँ गरिएको कार्यालयले जनाएको छ। युएस ३१२, एआरआई ६४४४, एमपी ३०३०, एचजेजी १०, जेके ५०१७ लगायतका हाइब्रिड जात प्रमुख रूपमा रोपिएका छन्।

उन्नत जातका सावाँ मन्सुली, हर्दिनाथ–६, रामधान, राधा–४, सुक्खा सिरिज (१–४), गङ्गोत्री र सावित्री तथा स्थानीय तिल्की र सिम्ठारो जातका धान पनि दाङमा खेती गरिन्छ।

यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देउखुरी क्षेत्रका लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद सुरु गरेको छ। कम्पनीकी प्रमुख तुलमायाँ लोवाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहबाट ५०० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्