
मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङका पाँच स्थानीय तहमा आलु उत्पादन क्षेत्र र उत्पादकत्व दुवै वृद्धि भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार कुल ४७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भई यसको बजार मूल्य करिब रु ६२ करोड ८२ लाख ३५ हजार ४०० पुगेको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादन क्षेत्र १८ हेक्टरले विस्तार भएको छ। यस्तै, प्रतिहेक्टर उत्पादन पनि करिब दुई मेट्रिक टनले बढेपछि कुल उत्पादन मूल्यमा रु ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको वृद्धि भएको छ। चालु वर्ष प्रतिहेक्टर औसत उत्पादन २०.२२ मेट्रिक टन रहेको केन्द्रले जनाएको छ।
फार्म गेट मूल्य प्रतिकेजी रु ६५ कायम गरी कुल उत्पादनको मूल्याङ्कन गरिएको हो। गत वर्ष प्रतिकेजी रु ६० मा बिक्री हुँदै आएको आलुको मूल्य यस वर्ष पाँच रुपैयाँले बढेको केन्द्रले जनाएको छ। उत्पादनको लेखाजोखा कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको समन्वयमा स्थानीय तहका प्राविधिकको उपस्थितिमा ‘क्रप कटिङ’ विधिबाट गरिएको थियो।
उत्पादन मापनका लागि जिल्लालाई माथिल्लो, मध्यमुस्ताङ र तल्लो क्षेत्र गरी तीन भागमा विभाजन गरिनुका साथै किसानका खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने वर्गीकरणमा आधारित उत्पादन तथ्याङ्क संकलन गरिएको प्रमुख गुरुङले बताए।
गत वर्ष मुस्ताङका पाँच स्थानीय तहमा ४६० हेक्टर क्षेत्रबाट ८ हजार ४९६ मेट्रिक टन आलु उत्पादित भएको थियो। चालु वर्ष त्यही आधारमा १ हजार १६९ मेट्रिक टन उत्पादन वृद्धि भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ। यससँगै जिल्लामा स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती तिव्र रूपमा बढ्दो छ।
उत्पादित कुल आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउका रूपमा खपत भएको छ। घरेलु प्रयोजन तथा होटल–रेस्टुराँ क्षेत्रमा करिब एकतिहाइ आलु प्रयोग हुने गरेको केन्द्रले जनाएको छ।
उच्च हिमाली चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो मानिन्छ। स्थानीय सेतो आलु पर्यटकदेखि सहरबजारका उपभोक्तासम्म निकै लोकप्रिय छ। ठकाली भान्साघर तथा तारेहोटलहरूमा समेत यसको माग उच्च रहने गरेको छ। पछिल्लो समय कोरला सडक सहज बन्दै गएपछि मुस्ताङी स्याउपछि आलुको माग पनि उल्लेख्य रूपमा बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताए।





