
काठमाडौँ, मंसिर ९ गते ।
मातृभूमि स्कुलका प्रवीर केसीले एचसीए युथ कप ब्लिट्ज चेसको उपाधि हात पारेका छन्। सात चरणको प्रतिस्पर्धामा सर्वाधिक ६ अंक हासिल गर्दै उनले शीर्ष स्थान सुरक्षित गरेका हुन्।

थापाथलीस्थित हिमालयन चेस एकेडेमीद्वारा आयोजित एकदिने प्रतियोगितामा अस्ट्रेलियाका लियो स्मेर्डन दोस्रो भए। समान ५.५ अंक बटुलेका सात्विकमान तुलाधर तेस्रो र आरभ पौडेल चौथो स्थानमा रहे। लियो, सात्विक र आरभको अंक बराबर भएपछि टाइब्रेकरका आधारमा वरीयता निर्धारण गरिएको थियो।

चौथो चरणमा प्रवीरलाई पराजित गरेका लियो छैटौं चरणमा निहाना श्रेष्ठसँग पराजित भए र अन्तिम चरणमा सात्विकसँग बराबरीमा रोकिए, जसका कारण उपाधि दौडमा पछि परे। ५ अंक ल्याएका अनमोल राई, निहाना श्रेष्ठ र संभव थुलुङसँगै अरन्य तुलाधर (४.५), अरिज राई (४) र दिभान श्रेष्ठ (४) शीर्ष १० मा परे।
उप–वर्गका विजेता
- यू–६ ब्वाइज: फेलिक्स स्मेर्डन
- यू–६ गल्र्स: रुथवी सिंह
- यू–८ ब्वाइज: प्रसित झा
- यू–८ गल्र्स: सहर्ष क्षत्री
- यू–१० ब्वाइज: आरभ श्रेष्ठ
- यू–१० गल्र्स: आहना शाह
विजेता खेलाडीहरूलाई अस्ट्रेलियन ग्रान्डमास्टर डेविड स्मेर्डन र एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
एकेडेमीका गतिविधि
हिमालयन चेस एकेडेमीले स्थापना भएको २०८० चैत १ गतेदेखि चेसको विकास र प्रवद्र्धनका लागि विविध प्रतियोगिता– जस्तै एसईई कप, तीज चेस, हिमालयन ब्लिट्ज कप, फ्रिस्टाइल च्याम्पियनसिपलगायत १० वटा प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।
एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट गरी ६ कोर्समार्फत आफ्ना थापाथली र भक्तपुर शाखामा करिब २ सय विद्यार्थीलाई प्रशिक्षण प्रदान गरेको छ। अनलाइन कक्षा, स्कुल तथा समुदायस्तरीय कार्यशाला पनि नियमित सञ्चालनमा छन्। साथै, कमनवेल्थ च्याम्पियन भारतीय आईएम अतनु लहिरीलाई बोलाई विशेष प्रशिक्षणसमेत प्रदान गरिएको एकेडेमीले जनाएको छ।





