
काठमाडौं, मंसिर ९
११औँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक रेडियन्ट पब्लिकका दुवै टोली फाइनल प्रवेश गर्दै दोहोरो उपाधिनजिक पुगेका छन्। मंगलबार सम्पन्न सेमिफाइनल खेलमा रेडियन्टको सिनियर ब्वाइज र सिनियर गल्र्स दुवै टोली विजयी बने।

सिनियर ब्वाइजतर्फ स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्ट पब्लिकले बेबी एन्जललाई ४९–२४ ले हराउँदै फाइनलमा प्रवेश गर्यो। रेडियन्टको जितमा सुगम राना मगरले १२ अंक जोडे। अर्को सेमिफाइनलमा सम्राट लामाको उत्कृष्ट १८ अंक सहयोगमा पुष्पसदनले केभीसीलाई ४६–३२ ले पाखा लगाउँदै रेडियन्टसँगको फाइनल भेट पक्का गर्यो।
सिनियर गल्र्सतर्फ रेडियन्टले नवीन ज्योतिलाई १५–१३ ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनायो। रेडियन्टकी सेजल रोक्काले ८ अंक जोडिन्। फाइनलमा रेडियन्टले स्वर्णिमसँग प्रतिस्पर्धा गर्नेछ। स्वर्णिमले केभीसीलाई ३२–१५ ले पराजित गर्न नसाना श्रेष्ठले ८ अंक योगदान गरे।
जुनियर ब्वाइज पक्षमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) फाइनलमा पुगेका छन्। ग्रिनफिल्डले केभीसीलाई २६–७ ले तथा इबीएले विस्डमलाई २९–१६ ले हराउँदै उपाधि भिडन्त सुनिश्चित गरे। ग्रिनफिल्डका किस्मत ढकालले १० र इबीएका प्रसिक श्रेष्ठले १४ अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरे। फाइनल बुधबार हुनेछ।





