कर्णालीलाई पराजित गरेपछि कप्तान ऐरीको प्रतिक्रिया



काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत दर्ता गर्दै उत्कृष्ट लय कायम राखेको छ । सोमबार कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले ह्याट्रिक जीतसँगै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

तीनै खेलमा अपराजित रहेको सुदूरपश्चिमले छ अङ्क जोड्दै प्लेअफको दौड अत्यन्त सहज पारेको कप्तान दीपेन्द्रसिंह ऐरीले बताए । खेलपछि प्रतिक्रिया दिँदै उनले भने, “लगातार तीन खेल जित्दा अन्य टोलीहरूमा पनि दबाब परेको छ । आजको जीतले प्लेअफ यात्रा अझ सहज बनाएको छ ।”

कप्तान ऐरीले पिचअनुसार योजना बनाएर खेलेकोले नतिजा अनुकूल आएको बताए । “पहिलो खेलदेखि नै यो हाइस्कोरिङ हुने पिच होइन भन्ने बुझेर खेलिरहेका थियौँ । ब्याटिङमा अपेक्षित रन बनाउन नसकिए पनि बलरहरूले उत्कृष्ट प्रदर्शन गरे, त्यसकै नतिजा जीत बन्यो,” उनले जोड दिए ।

यसैबीच कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले टिमका मुख्य ब्याटरले क्षमताअनुसार प्रदर्शन गर्न नसक्दा हार व्यहोर्नुपरेको टिप्पणी गरे । उनले भने, “आशा गरिएको प्रदर्शन नआएपछि हार स्वीकार्नुपर्‍यो । तर प्रतियोगितामा अझै चार खेल बाँकी छन् । ती खेलमा सुधार गर्दै प्लेअफको लागि प्रतिस्पर्धा गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्