
एजेन्सी । साउदी अरबले केही विदेशी बासिन्दाका लागि मदिरा खरिदसम्बन्धी कडाइ खुकुलो पारेको छ।
साउदीमा कार्यरत विदेशी कूटनीतिज्ञ र ‘प्रिमियम भिसा’ धारकहरूले एएफपीलाई जानकारी दिँदै भनेका छन् कि सरकारबाट औपचारिक घोषणा नभए पनि, प्रिमियम आवासीय दर्जा प्राप्त गैर–मुस्लिम विदेशीलाई अब रियादस्थित देशको एकमात्र मदिरा पसलबाट रक्सी खरिद गर्न अनुमति दिइएको छ। यो पसल पहिले कूटनीतिज्ञहरूका लागि मात्र खुला थियो।
एएफपीले नाम नखुलाउने सर्तमा कुराकानी गरेका चार स्रोतले—साउदीको कडा कानुनका कारण—नियम परिवर्तन भइसकेको पुष्टि गरेका छन्। तीमध्ये केही कूटनीतिक दर्जाका तथा केही प्रिमियम भिसाधारक बासिन्दा थिए।
एक प्रिमियम भिसाधारकले भने, “मैले साथीहरूबाट सुनेपछि प्रयास गरेँ। दुई दिनअघि पसल पुगेँ, र मलाई खरिद खुला रहेछ। यसले कालो बजारमा चर्को मूल्य तिर्नुपर्ने अवस्था हटायो। मूल्य पनि उचित छन्, अन्ततः हामी साउदीमै कानुनी रूपमा रक्सी किन्न सक्ने भयौँ।”
एएफपीले यस विषयमा साउदी अधिकारीहरूसँग टिप्पणीका लागि सम्पर्क गरेको भए पनि उनीहरूको कुनै प्रतिक्रिया आएको छैन।
सन् २०१९ मा सुरु गरिएको प्रिमियम रेजिडेन्सी योजना सीमित विदेशी समूहका लागि उपलब्ध छ। यसका लागि एकपटकमा ८ लाख रियाल (करीब २१३ हजार अमेरिकी डलर) तिर्नुपर्छ। यो भिसाले धारकलाई स्थानीय ‘प्रायोजक’ बिना साउदीमा बस्न, रोजगारी गर्न तथा स्वतन्त्र रूपमा लगानी गर्न अनुमति दिन्छ, जुन साधारण विदेशी कामदार वा पर्यटकका लागि उपलब्ध हुँदैन।
एक प्रिमियम रेसिडेन्सी–धारकले भने, “मेरो पहिचान जस्तै दर्जा भएका अन्य विदेशीहरू अग्रिल्तिरै खरिद गर्दै थिए। प्रक्रिया निकै सहज रहेछ।”
एक पश्चिमी कूटनीतिज्ञका अनुसार पछिल्ला केही दिनयता प्रिमियम रेसिडेन्सी पहिचान भएका व्यक्तिहरूले सहजै मदिरा किन्न थालेका छन्। “विदेशीहरूका ह्वाट्सएप समूहहरूमा पनि यही चर्चा छ,” उनले भने।
अर्की कूटनीतिज्ञले अफिसले मात्रै खुला गरेको मदिरा पसल भीडले भरिएको बताउँदै, “मैले धेरैलाई ३० बोतलसम्म लिएर बाहिर निस्किँदै गरेको देखेँ,” भनिन्।
साउदीले सन् २०२४ जनवरीमा गैर–मुस्लिम विदेशी कूटनीतिज्ञका लागि मात्रै सेवा दिनेगरी राजधानीको कूटनीतिज्ञ क्षेत्रभित्र पहिलो र एकमात्र रक्सी पसल खोलेको थियो। त्यतिबेला पनि औपचारिक घोषणा गरिएको थिएन।
क्राउन प्रिन्स मोहम्मद बिन सलमान सत्तामा आएपछि साउदीले आर्थिक विविधीकरण, पर्यटन विस्तार र अन्तर्राष्ट्रिय लगानी आकर्षण गर्ने उद्देश्यले व्यापक सुधारहरू अघि बढ़ाइरहेको छ। महिलालाई गाडी चलाउने अनुमति, विदेशी पर्यटन खुला र सिनेमाघर पुनः सञ्चालन जस्ता परिवर्तनले राज्यको स्वरूप बदलिरहेको छ। तर इस्लामको जन्मस्थान तथा दुई पवित्र सहरको गृहभूमि सउदीमा मदिरा खरिद खुला गर्नु भने अझै संवेदनशील विषय मानिन्छ र यो स्वदेशी मुस्लिमका लागि उपलब्ध छैन।





