
चितवन । खोलानाला तथा ताल–पोखरीमा प्रयोग हुने माछा मार्ने जाल कसरी बन्छ भन्ने बारे धेरैलाई खासै जानकारी नहुने गरे पनि यसको उत्पादनमा बाहिरी श्रमिकहरूको योगदान उल्लेखनीय छ । जाल बनाउन आवश्यक कच्चापदार्थ भारतलगायत बाहिरी मुलुकबाट मगाइन्छ र स्थानीय स्तरमै तयार पारेर बजारमा आपूर्ति गरिन्छ ।
चितवनको नारायणगढस्थित बालकुमारी सब्जी मण्डीका केही सटरमा वर्षौँदेखि जाल उत्पादन चल्दै आएको छ । यहाँ जाल बुन्ने श्रमिकको ठूलो भाग भारतको बिहार प्रदेशबाट दशकौँअघि रोजगारीका लागि आएका परिवारहरू हुन् । अहिले यिनै परिवारहरू जाल बुन्ने मुख्य सीपधारीका रूपमा स्थापित भएका छन् । मण्डीका ८–१० सटर तथा पोखरा बसपार्क नजिकका केही स्थानमा उनीहरूको श्रम र अनुभवको कारण स्थानीय बजारमा जालको आपूर्ति निरन्तर भइरहन्छ ।
हाल माछा मार्ने मुख्य सिजन नपुगे पनि बजारमा केही माग रहने हुँदा यी पेसाकर्मीहरू जाल तयार पार्नमै व्यस्त हुन्छन् । सानै उमेरदेखि नारायणगढमै जाल बुन्दै जीविकोपार्जन गर्दै आएका ६० वर्षे ललन सहनी भन्छन्, “हाम्रा बाबु–बाजेले यही काम गर्नुहुन्थ्यो । मैले कलकत्तामा गएर सीप सिकेको हुँ । अहिले पनि सबै प्रकारका डिजाइनका जाल बनाउँछु ।” उनका अनुसार परिवारका सबै सदस्य यही पेसामा संलग्न छन्। माग बढ्ने समयमा दिनमै पाँचवटा जालसम्म बुन्ने गरेको उनले बताए ।
सहनीका अनुसार अहिले एक जाल तीन हजारदेखि साढे तीन हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । आगामी तीन–चार महिनापछि यसको माग अत्यधिक हुने अपेक्षा उनले व्यक्त गरे । पहिले प्राकृतिक धागो तथा स्थानीय सामग्री प्रयोग हुन्थ्यो, तर अहिले धागो, रिङलगायत सामग्री बजारमा सजिलै पाइए पनि जाल बुन्ने सीप र मेहनत भने उस्तै जटिल रहेको उनी बताउँछन् ।
बालकुमारी मण्डीकै अर्को सटरमा जाल बुन्दै आएका पवन कुमारको परिवार पनि यही पेसामा निर्भर छ । “बुवाले जाल बुन्ने काम गर्नुहुन्थ्यो, त्यही हेर्दै सिकेको हुँ,” पवन भन्छन् । उनका अनुसार जाल बनाउन चाहिने सबै सामग्री भारतबाट ल्याइन्छ । दाजुभाइ मिलेर उनीहरूले थोक तथा खुद्रा दुबै रूपमा जाल बिक्री गर्दै आएका छन् । “तियारी जाल र हान्ने जाल छुट्टाछुट्टै हुन्छन् । आकार र धागोको गुणस्तरअनुसार मूल्य फरक पर्छ,” उनले बताए । अहिले उनीहरूले अनलाइनमार्फत समेत अर्डर लिएर जाल बिक्री गरिरहेका छन् । दमौली, पोखरा, लमजुङ, गोरखा लगायत स्थानबाट अर्डर आउने र महिनामा दुई–तीन लाखसम्मको कारोबार हुने पवनको भनाइ छ ।
यही व्यवसायमा संलग्न अभिषेक कुमारका अनुसार जाल बिक्रीको मुख्य सिजन चैतदेखि जेठसम्म हुन्छ । अहिले सिजन नभएकाले उनीहरू दिनभरि जाल बुन्ने काममै व्यस्त हुने गरेको बताउँछन् । “ग्राहक कहिलेकाहीँ आउँछन्, तर यो मुख्य बिक्रीको समय होइन,” अभिषेक भन्छन् । उनका अनुसार माछा मार्ने संख्या केही घटेको भए पनि ताल–फार्म, व्यवसायी तथा स्थानीय उपभोक्ताको स्थिर मागका कारण जालको व्यापार निरन्तर चलिरहेको छ । यही पेसाबाट घरखर्च चलाइरहेको र अन्य कुनै व्यवसायमा संलग्न नभएको उनले बताए ।
जाल उत्पादनमा बाहिरी श्रमिकको सीप, मेहनत र निरन्तरता नै चितवन तथा आसपासका बजारमा यसको सहज उपलब्धताको मुख्य आधार बनेको देखिन्छ ।





