वासिङ्टन–किएभको जोड : युक्रेनको पूर्ण सार्वभौमिकता सुरक्षित हुने शान्ति सम्झौता आवश्यक



वासिङ्टन डीसी। जेनेभामा अमेरिकी, युक्रेनी र युरोपेली अधिकारीबीच सम्पन्न ‘रचनात्मक’ वार्तापछि वासिङ्टन र किएभले संयुक्त विज्ञप्ति जारी गर्दै रुससँगको युद्ध अन्त्य गर्ने कुनै पनि शान्ति सम्झौताले युक्रेनको पूर्ण सार्वभौमिकता अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।

अमेरिकाद्वारा तयार गरिएको प्रारम्भिक शान्ति प्रस्तावप्रति युरोपेली पक्षबाट उठेका आलोचनापछि बसेको एकदिने बैठकले ‘अद्यावधिक र परिष्कृत’ शान्ति खाका तयार पारेको संयुक्त वक्तव्यमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षदेखि जारी युद्ध रोक्ने लक्ष्यसहित युक्रेनलाई आफ्नो प्रस्ताव नोभेम्बर २७ भित्र स्वीकार गर्न समयसीमा दिएका थिए।

तर किएभले मस्कोले राखेका कडा सर्तहरू अस्वीकार्य रहेको बताउँदै २८ बुँदेमध्ये धेरैमा परिमार्जन आवश्यक भएको अडान राख्दै आएको छ। विवादास्पद प्रस्तावले युक्रेनलाई केही भू–भाग त्याग्न, सेना कटौती गर्न र नाटो प्रवेश नछोड्ने आश्वासन दिन दबाब दिएको छ।

संयुक्त वक्तव्यमा भनिएको छ, “वार्ता अत्यन्तै रचनात्मक र उद्देश्यकेन्द्रित रह्यो, जसले न्यायपूर्ण र दिगो शान्ति हासिल गर्ने हाम्रो साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।” वक्तव्यले सहमतिका प्रमुख बुँदामा ‘अर्थपूर्ण प्रगति’ भएको उल्लेख गर्दै कुनै पनि अन्तिम सम्झौतामा युक्रेनको सार्वभौमिकता ‘अविचल रूपमा’ सम्मानित हुनुपर्ने धारणा दोहोर्‍याएको छ।

दुवै पक्षले आगामी दिनहरूमा संयुक्त प्रस्तावलाई थप परिमार्जन गर्दै अघि बढ्ने प्रतिज्ञा गरेका छन्। यतिकै बीच अमेरिकाले वार्तालाई ‘महत्त्वपूर्ण कदम’ भनेर प्रस्तुत गरिरहँदा युक्रेनको खार्किभ सहरमा भएको रूसी ड्रोन आक्रमणमा चार नागरिकको मृत्यु भएको मेयर इगोर तेरेखोभले जानकारी दिएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा ‘जबरदस्त प्रगति’ भएको बताए भने युक्रेनी प्रमुख प्रतिनिधि एन्ड्री यर्माकले पनि ‘धेरै राम्रो प्रगति’ भएको बताएका छन्। रुबियोका अनुसार विवादका मुद्दा क्रमशः सङ्कुचित हुँदै गइरहेका छन् र बाँकी विषय ‘टाढा छैनन्’। उनले अन्तिम सहमति राष्ट्रपतिहरूबीच नै हुने भएकाले केही संवेदनशील विषयमा अझ काम बाँकी रहेको स्वीकारे।

वार्ता अघि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा युक्रेन नेतृत्वले अमेरिकाप्रतिको कृतज्ञता नदेखाएको टिप्पणी गरेका थिए। त्यसपछि केहीबेरमै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा लेख्दै अमेरिकाको निरन्तर सहयोग र ‘युक्रेनी जीवन जोगाइरहनुभएको योगदान’प्रति गहिरो आभार व्यक्त गरेका छन्।

रूसी आक्रमणबारे मेयर तेरेखोभले टेलिग्राममा लेख्दै वार्ता चलिरहेका बेला नागरिक क्षेत्र, पूर्वाधार र आवासीय भवनमा भइरहेको आक्रमण ‘अत्यन्त भयावह’ भएको बताएका छन्। युक्रेनी टोलीले अमेरिकी मस्यौदाको अद्यावधिक संस्करणमा ‘युक्रेनका प्रमुख प्राथमिकता’ समेटिएको दाबी गरेको छ।

दिनको अन्त्यमा रुबियोले ट्रम्प प्रगति सुनेर ‘सन्तुष्ट र उत्साहित’ भएको बताए। नोभेम्बर २७ भित्र सहमति सम्भव छ कि भन्ने प्रश्नमा उनले भने, “हामी सकेसम्म चाँडो निष्कर्षमा पुग्न चाहन्छौँ। प्रगति उल्लेखनीय छ, म अत्यन्त आशावादी छु कि छिट्टै उचित निष्कर्षमा पुग्नेछौँ।”

वार्तामा युरोपेली भूमिका पनि प्रमुख रहेकामा जोड दिइएको छ। रुबियोले आफ्नो टोलीले विभिन्न युरोपेली देशका सुरक्षा सल्लाहकारहरूसँग भेटेको बताए भने युक्रेनी प्रतिनिधिमण्डलले बेलायत, फ्रान्स र जर्मनीका वरिष्ठ अधिकारीसँग परामर्श गरेको छ। अमेरिकी प्रारम्भिक योजना युरोपेली इनपुट बिना बनेको भन्दै आलोचना भएपछि आइतबार युरोपेली पक्षले ‘आफ्नो भूमिका स्पष्ट रूपमा’ प्रस्तुत भएको जनाएको छ।

युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले विज्ञप्तिमा भनिन्, “युक्रेनलाई आफ्नो बाटो चुन्ने स्वतन्त्रता र पूर्ण सार्वभौम अधिकार छ। उनीहरूले युरोपेली मार्ग रोजेका छन्, र कुनै पनि शान्ति योजनामा इयुको भूमिका स्पष्ट रूपमा केन्द्रीय हुनैपर्छ।”

त्यसैगरी बेलायतका प्रधानमन्त्री किर स्टार्मर र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्तापछि डाउनिङ स्ट्रिटले दुवैले ‘न्यायपूर्ण र दिगो शान्ति ल्याउन सबै पक्षले घनिष्ठ समन्वय आवश्यक’ रहेकोमा सहमति जनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्