पच्चीसौँ आहा रारा पोखरा गोल्डकप माघमा हुने



पोखरा। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ महिनामा हुने भएको छ। प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले माघ २७ गतेदेखि फागुन ९ गतेसम्मको समय तालिका प्रदान गरेको आयोजक सहारा क्लब पोखराले मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो।

क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लबहरूलाई आमन्त्रण गरिने तयारी तीव्रगतिमा भइरहेको छ। उनले विदेशी टोलीसहित नेपालका प्रतिष्ठित क्लबहरूले सहभागिता जनाउने बताउँदै सहभागी टिमको अन्तिम सङ्ख्या भने छलफलमै रहेको बताए।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गोल्डकपले पोखरालाई फुटबलमार्फत अन्तरराष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। फुटबलको विकासका लागि महानगरपालिका सहकार्य गर्न सधैं तयार रहेको पनि उनले स्पष्ट पारे। त्यस्तै, मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्डकपसँगको सहकार्य दीर्घकालसम्म निरन्तर रहने प्रतिबद्धता जनाए।

प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका रहनेछ भने विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, एन्फा र कास्की जिल्ला फुटबल सङ्घ छन्। उप–प्रायोजकका रूपमा पोखरा महानगरपालिका–९ कार्यालय रहने उल्लेख गरिएको छ। गत वर्ष सम्पन्न २४ औँ संस्करणमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी विजेता बनेको थियो भने नेपाल पुलिस क्लब उपविजेता बनेको थियो।

सो अवसरमा सहारा क्लबले गत कात्तिक १४ गते आयोजित ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आय–व्यय विवरण पनि सार्वजनिक गर्यो। कार्यक्रममा रु २४ लाख १९ हजार संकलन भई रु ६ लाख ७७ हजार खर्चपछि रु १७ लाख ४१ हजार बचत भएको जानकारी दिइयो।

क्लबका महासचिव गङ्गाराम पौडेलका अनुसार उक्त बचत रकम ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुनेछ। एकेडेमीमा हाल १६ जिल्लाका ३० किशोर आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्राप्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्