प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सुरु



प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। पहिलो दिन समूह चरणअन्तर्गत सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ४ र सिनियर गल्र्सतर्फ २ सहित १४ खेल सम्पन्न भएका छन्।

सिनियर ब्वाइजमा इभरेष्ट फ्लोरिडाले अल्बर्टलाई ४९–१४, काठमाडौं जेभियर्सले अक्षरलाई ३३–२३ र श्रृजनशीललाई ३३–८ ले हरायो। काठमाडौं इङलिस स्कुल (केइएस) ले स्पाङ्गललाई २२–१७, हेम्सले एसियनलाई ३३–१४ तथा मार्भलसलाई ३९–२२ र अल्बर्टले सुप्रिम इन्टरनेसनललाई २५–५ ले पराजित गरे।

जुनियर ब्वाइजतर्फ इनोभेटिभले काठमाडौं जेभियर्सलाई २१–१६, एसियन पब्लिकले लिटिल फ्लावरलाई १४–८, हेम्सले चैतन्यलाई १८–११ र सनसाइनले मार्भलसलाई २१–११ ले हराए।

सिनियर गल्र्समा काठमाडौं जेभियर्सले चैतन्यलाई २९–१६ र केइएसले सनसाइनलाई २६–१८ ले पाखा लगायो।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेलले निर्णायकलाई बल हस्तान्तरण गर्दै गरे। प्रतियोगितामा सिनियर ब्वाइजमा १८ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम सहभागी रहेको आयोजकका अध्यक्ष धनप्रसाद सुब्बाले बताए।

खेलहरु बुद्धनगरस्थित इनोभेटिभ इङलिस स्कुल र बानेश्वरस्थित काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भइरहेका छन्। फाइनल खेल मंसिर १३ गते हुने निर्धारित छ।

प्रतिक्रिया दिनुहोस्