बेबी एन्जल र केभीसी सेमिफाइनलमा



काठमाडौं, मंसिर ८ गते ।
११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बेबी एन्जल र केभीसी सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा भएको खेलमा बेबी एन्जलले स्किब्सलाई ३२–२७ ले पराजित गर्‍यो। टोलीका यमन गिरीले १० अंकको योगदान दिए। त्यस्तै, आरोनलाल श्रेष्ठले १२ अंक जोड्दै केभीसीलाई पिपुल्स एकेडेमीविरुद्ध २५–१९ को जित दिलाए।

सिनियर ब्वाइजकै अन्य खेलमा रेडियन्ट पब्लिकले ओएसिसलाई ५४–२८ तथा पुष्पसदनले बाल दीक्षा सदनलाई ५३–३५ ले हराउँदै अन्तिम चारमा स्थान बनाए। रेडियन्टका नन्दन बस्नेतले १२ र पुष्पसदनका सम्राट लामाले २४ अंक बटुले।

जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले पिपुल्सलाई २०–१३, केभीसीले नवीन ज्योतिलाई ११–७, विस्डमले कश्यपलाई १०–७ र ग्रिनफिल्डले सेबलाई २५–९ ले पाखा लगाउँदै सेमिफाइनलमा पुगे। इबीएका प्रसिक श्रेष्ठले ७, केभीसीका शेरसाङ शेर्पाले ४, कश्यपका निरजले ४ र ग्रिनफिल्डका अजय मगरले ६ अंक जोडे।

सिनियर गल्र्समा नवीन ज्योतिले जेसिसलाई १४–९, रेडियन्ट पब्लिकले राराहिललाई २१–१२, स्वर्णिमले ज्ञानोदयलाई २५–९ र केभीसीले निःसर्ग वाटिकालाई १८–९ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरे। नवीन ज्योतिकी मन्सुन पुरीले ९, रेडियन्टकी सोनु तामाङले ९, स्वर्णिमकी ओजस्वी बोहराले ८ र केभीसीकी सिमरन पाण्डेले ११ अंक प्राप्त गरिन्।

प्रतिक्रिया दिनुहोस्