पौवादुङमाको चाँपे गाउँमा ‘एक घर–एक धारा’ जडान, स्थानीय खुसी



भोजपुर। पौवादुङमा गाउँपालिका–१ श्यामशिलास्थित चाँपे गाउँमा ‘एक घर–एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि स्थानीयवासी वर्षौँदेखिको खानेपानी समस्या समाधान भएको अनुभूति गरिरहेका छन्। गाउँपालिका र वडाको संयुक्त पहलमा यहाँका ३० घरधुरीमा घर–घरमै धारा जडान गरिएको हो।

वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार पिउने पानीको चरम अभाव झेल्दै आएको चाँपे गाउँलाई लक्षित गर्दै उक्त योजना अघि बढाइएको हो। “स्थानीयको दीर्घकालीन पानी समस्याको समाधान गर्न सफल भएका छौँ,” वडाध्यक्ष तामाङले बताए, “अब गाउँका सबै घरधुरीमा शुद्ध पिउने पानी सहज रूपमा उपलब्ध छ।”

योजनाका लागि गाउँपालिकाले ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिँदै भनिन्, “गाउँपालिकाका विभिन्न वडामा खानेपानी चुनौती अझै ठूलो छ। मुहान संरक्षण र ठूला–साना खानेपानी योजना सञ्चालनमार्फत ‘एक घर–एक धारा’ पुग्ने लक्ष्यसहित काम गरिरहेका छौँ।”

धारा जडान भएपछि स्थानीयहरू अत्यन्तै उत्साहित छन्। वर्षौँदेखि टाढाबाट पानी बोक्न बाध्य तारा तामाङले घरमै धारा पुगेपछि दैनिक जीवनमा सहजता आएको बताइन्। अर्की स्थानीय सङ्गीता राईले धारा स्थापना भएपछि सरसफाइमा सुधार भएको तथा खेर जाने पानी करेसाबारीमा प्रयोग गर्न थालेको भनिन्।

“पहिले डोको बोकेर धेरै टाढाबाट पानी ल्याउनुपर्थ्यो,” सङ्गीता राई भन्छिन्, “अब धारा घरको आँगनमै आएपछि कामकाज सहज भएको छ। गाउँपालिकाको प्रयासले हाम्रो दैनिकीमै परिवर्तन ल्याएको छ।”

‘एक घर–एक धारा’ अभियानले चाँपे गाउँमा खानेपानी संकट अन्त्य गर्दै स्थानीयलाई राहत दिएको छ।

प्रतिक्रिया दिनुहोस्