‘निर्वाचनमा सबै दल सहभागी हुनेछन् : मन्त्री खरेल’



चरिकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरेका छन्।

कालिञ्चोक–८ सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले निर्वाचनका लागि आवश्यक वातावरण तयार भइसकेको बताए। “सरकारको मुख्य लक्ष्य निर्वाचन हो। सरकार पूर्ण रूपमा तयार छ, सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुन्छन्। यो सन्देश देशभर फैलाउनु जरुरी छ,” मन्त्री खरेलले भने।

मन्त्री खरेलले सुशासनमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै छ महिनाभित्र जनताले अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले उक्त आन्दोलनका घाइते र सहिदको योगदानलाई सम्मानपूर्वक संरक्षण गर्ने बताए।

उनका अनुसार वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनालाई प्राथमिकतामा राखेको छ। उनले राजनीतिक दलबीचको अत्यधिक सत्ता खेल, स्वार्थमुखी राजनीति र अस्थिरताका कारण शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म असर परेको उल्लेख गर्दै अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिए।

उनले भने, “राजनीतिक स्थिरता नहुँदा शिक्षा क्षेत्रदेखि विकाससम्म असर परेको छ। अब सबै दलले राष्ट्रिय जिम्मेवारीकातर्फ उन्मुख भई स्थिर सरकार, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकता दिन आवश्यक छ।”

प्रतिक्रिया दिनुहोस्