
कर्णाली। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने–नहुनेबारे प्रदेश सरकार ढुक्क नभएको बताएका छन्।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले गरेको छलफलमा सहभागी हुँदै मन्त्री भण्डारीले निर्वाचन मिति र प्रतियोगिता संचालन अवधि एउटै परेकाले शंका झन् बढेको बताए। उनका अनुसार संघीय सरकारले पटक–पटक प्रतियोगिताको मिति घोषणा गर्दै सारिरहनुले यसको सुनिश्चिततामा प्रश्न उठेको छ।
“फागुन १ गतेदेखि प्रतियोगिता सुरु गर्ने मिति केन्द्रबाट तोकिए पनि आवश्यक तयारीका विषयमा प्रदेश सरकारसँग अहिलेसम्म उचित समन्वय भएको छैन,” मन्त्री भण्डारीले भने। उनका अनुसार मूल आयोजक पक्षको तयारी सुस्त देखिए पनि प्रदेश सरकार भने आफ्ना जिम्मेवारीका काममा तयार अवस्थामा छ। उनले थपे, “संघीय सरकारले तोकिएका मितिमा प्रतियोगिता सञ्चालन गर्न नसक्दा नागरिकहरूमा पनि यसको सम्भावनाप्रति विश्वास जग्न सकेको छैन।”





