‘तोकिएकै समयमा निर्वाचन हुनुपर्छ’



दाङ। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तोकिएको समयमै निर्वाचन सम्पन्न हुनु अत्यन्त जरुरी भएको बताएकी छन्। दाङको बङ्गलाचुली गाउँपालिकाद्वारा आइतबारदेखि सुरु गरिएको छैटौँ बङ्गलाचुली गाउँपालिका कप–२०८२ को उद्घाटन गर्दै नेतृ शर्माले जेनजी आन्दोलनले सबै राजनीतिक दललाई सुधार गर्ने अवसर दिएको र नयाँ निर्वाचन मिति सार्वजनिक भइसकेकाले अब समयमै निर्वाचन गराउनु अनिवार्य भएको धारणा राखिन्।

देशको स्वाधीनता, लोकतान्त्रिक उपलब्धि र जनादेशको सम्मानका लागि निर्धारित समयमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबै दल तयार हुनुपर्ने आवश्यकता उनले जोड दिइन्। उनले तोकिएको निर्वाचनलाई विफल बनाउने कुनै प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन्।

नेता शर्माले खेलकुद र खेलाडी राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्पत्तिको संरक्षण, विकास र प्रबर्धनमा स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराइन्।
गाउँपालिकास्तरीय उक्त प्रतियोगिता मंसिर ८ गतेसम्म चल्नेछ। गाउँपालिकाका आठै वडाका तीन खेल समूहका खेलाडीहरू प्रतिस्पर्धामा सहभागी भएका छन्।

प्रतिक्रिया दिनुहोस्