
नुवाकोट। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद तथा बेपत्ता परिवारका लागि आफूहरूले गर्व गर्न लायक कार्य सम्पन्न गरेको बताएका छन्।
नुवाकोटको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आइतबार उद्घाटन गर्दै दाहालले मुलुकको रूपान्तरणका सबै महत्त्वपूर्ण चरण सहिदको बलिदानकै आधारमा सम्भव भएको उल्लेख गरे। उनले सहिदको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै आफूले गर्न सक्ने सबै प्रकारका सम्बोधन र सहायता उपलब्ध गराइरहेको बताए।
उनका अनुसार जनयुद्धको विजय, सङ्घीय गणतन्त्रको स्थापना, संविधानसभामार्फत संविधान जारी, राज्य पुनःसंरचना लगायतका उपलब्धि सहिद, बेपत्ता र घाइते योद्धाहरूको अमूल्य बलिदानबाट प्राप्त भएका हुन्। ती उपलब्धिलाई संस्थागत गर्न विविध राहत तथा सहयोगका कार्यक्रम निरन्तर अघि बढाइरहेको उनले बताए।
दाहालले भने, “पहिलोपटक प्रधानमन्त्री हुँदा मेरो पहिलो निर्णय नै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने थियो, तर तत्काल कार्यान्वयन हुन सकेन। तेस्रो कार्यकालमा आएर जनयुद्धसहित सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशित गर्न पाउनु गर्वको विषय हो। यसलाई ठूलो उपलब्धि मान्नुपर्छ।”
बेपत्ता व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगका लागि आवश्यक कानुन निर्माण गर्ने विधेयकलाई अन्तिम चरणमा पुर्याउन सफल भएको उल्लेख गर्दै उनले अब यसको परिपूरण कार्यान्वयनमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए। परिपूरण योजनामा सहिद तथा बेपत्ता परिवारलाई परिचयपत्र वितरण, सार्वजनिक सेवामा विशेष सुविधा, परिवारका एक सदस्यलाई रोजगारी व्यवस्था र न्यूनतम १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने व्यवस्था समावेश छ। यी सबै कार्यान्वयन गर्न जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनको भनाइ छ।
शान्ति प्रक्रियालाई पूर्ण रूपमा निष्कर्षमा पुर्याउन परिपूरणका कदम अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसका लागि अन्तर्राष्ट्रिय निकाय तथा दातृ संस्थासँग सहकार्य गर्दै आवश्यक स्रोत जुटाइने बताए।
सो अवसरमा दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त ९० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको एकैसाथ उद्घाटन गरे। स्मृति पार्कमा जनयुद्धका क्रममा लिखु गाउँपालिकाबाट दिवंगत ११ सहिद र एक बेपत्ता सहित १२ जनाको शालिक अनावरण गरिएको छ।





