देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको तयारी पूरा




अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट्स प्रा.लि.को आयोजनामा पाँचौँ देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि सुरू हुने भएको छ।
स्पिनका अध्यक्ष सुमन शाक्यका अनुसार प्रतियोगितामा ११ विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष/महिला टिम, पुरुष/महिला सिंगल्स, यु–१६ ब्वाइज/गल्र्स सिंगल्स, ४० वर्षमाथिका पुरुष/महिला भेट्रान सिंगल्स, ५० र ६० वर्षमाथिका भेट्रान पुरुष सिंगल्स तथा ४० वर्षमाथिको भेट्रान टिम इभेन्ट समावेश छन्।
स्पिनका सचिव तथा टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार टिम इभेन्ट बाहेक सबै विधामा नगद पुरस्कार खुला गरिएको छ। पुरुष/महिला सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पाउनेछन्। यु–१६ तथा भेट्रान सिंगल्सका विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेस्रो स्थानलाई २ हजार ५ सय दिइनेछ।
४ सयभन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता सञ्चालनमा करिब १७ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ। पाँचदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्