
काठमाडौँ। अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) चावहिल शाखाले पशुपति क्षेत्रको चावहिलबाट गोकर्णेश्वर नगरपालिकाको नारायणटारसम्म जगन्नाथ रथयात्राको आयोजना गरेको छ।
इस्कोन चावहिल शाखाले हरेक वर्ष मङ्सिर महिनाको शनिबार राजधानीमा रथयात्रा गर्दै आएको छ। द्वापरयुगमा गोपिनीहरूले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको स्मरण गर्दै नेपालमा सन् १९७७ देखि यो परम्परा सुरु गरिएको हो। इस्कोन चावहिल शाखाका सचिव जीवदया गौराङ्गदासका अनुसार रथयात्रा चावहिलबाट सुरु भई चुच्चेपाटी, टुसाल, बौद्ध, पीपलबोट, जोरपाटी हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको थियो।
यात्रा समाप्त भएपछि नारायणटारमा भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो। यात्राका क्रममा विभिन्न स्थानमा भगवान् श्रीकृष्ण, बलराम र बहिनी सुभद्रालाई ५६ प्रकारका भोग चढाइएका थिए।
भारतको जगन्नाथपुरीमा आषाढ शुक्ल द्वितीयाका दिन हुने रथयात्रासँग सम्बन्धित यस परम्परालाई नेपालमा इस्कोन केन्द्रीय कार्यालयले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट टुँडिखेलसम्म शहरभरि घुमाउँदै मनाइन्छ। सचिव गौराङ्गदासका अनुसार यो परम्परा नेपालसहित १६५ देशमा पालन हुँदै आएको छ।
त्यसैगरी, आषाढ शुक्ल द्वितीयाको दुई हप्तापछि भक्तपुरमा पनि जगन्नाथ रथयात्रा आयोजना गरिन्छ। महाभारतलगायत विभिन्न पुराण र धर्मशास्त्रमा रथयात्राबारे उल्लेख छ। यस रथयात्रामा कृष्ण, बलराम र सुभद्रालाई रथमा राखेर घुमाइन्छ र हजारौँ भक्तजन सहभागी हुन्छन्।





