छैटौँ बन्दीपुर महोत्सव आगामी मङ्सिर १०–२१ गते आयोजना हुने



दमौली । बन्दीपुरको पर्यटन प्रवर्द्धन र बंदीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ।

महोत्सव तनहुँ उद्योग वाणिज्य सङ्घ, बन्दीपुर बजार इकाई समितिको आयोजनामा टुँडिखेलमा सञ्चालन हुनेछ। महोत्सव संयोजक तथा इकाई सभापति घनश्याम उपाध्यायले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा बताएअनुसार, “उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन तथा स्थानीय कला र संस्कृतिको संरक्षण” भन्ने मूल नारासहित महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

उपाध्यायले बताएअनुसार, बन्दीपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थल भएकाले महोत्सवले यसलाई थप प्रवर्द्धन गर्न सहयोग पुग्नेछ। महोत्सवले ऐतिहासिक सम्पदाहरू र पर्यटकीय स्थलहरूको पहिचान र प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

महोत्सवमा दुई लाखभन्दा बढी पर्यटकको सहभागिता हुने अपेक्षा राखिएको छ भने, करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। कार्यक्रम अवधिमा धार्मिक र ऐतिहासिक स्थलहरूमा भ्रमण गराइनेछ, जसमा खड्गदेवी मन्दिर, पहाड पानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई–भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार तथा मार्ग, टुँडिखेल र रानीवन समावेश छन्।

साथै, महोत्सवमा साहसिक पर्यटन गतिविधिहरू पनि हुनेछन्, जस्तै चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइकलिङ। व्यापारिक सामग्रीका ७९ स्टल, घरेलु तथा हस्तकलाका तीन, कृषि उपजका दस, सेवामूलक संस्थाका एक, होटल–रेस्टुरेन्ट आठ, सूचना केन्द्र एक र अटो कम्पनी दुई स्टलहरू रहनेछन्।

महोत्सवको संरक्षक बन्दीपुर गाउँपालिका रहेको छ भने प्रवर्द्धक संस्थाहरूमा तनहुँ उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ र बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय रहेका छन्।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सहयोग गर्ने बताए। उनका अनुसार, भ्रमण वर्षको अवसरमा हरेक महिना गाउँपालिकाभित्र र बाहिर गरी दुई कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ। यसैअनुरूप गत भदौ १६ गते होटल एसोसिएसन बन्दीपुरको संयोजकत्वमा काठमाडौँमा बन्दीपुर प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको थियो, जसले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्