
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट निर्वाचित प्रतिनिधिद्वारा मात्र सरकार सञ्चालन हुने लोकतान्त्रिक परिपाटीलाई मजबुत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा आज आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि बनेको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावना अनुरूप नभएको दाबी गरे। साथै, उनले पार्टीको भ्रातृ संगठन ‘राष्ट्रिय स्वयंसेवक फोर्स’ सबै नागरिकको सुरक्षाका लागि खडा गरिएको स्पष्ट पारे।
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्र सुदृढीकरणका लागि पार्टी निरन्तर सक्रिय रहने बताए। त्यस्तै, बाग्मती प्रदेश कमिटीका इञ्चार्ज डा. राजन भट्टराई, सचिव नवराज सिलवाललगायतका वक्ताले जनपरिचालन अभियानका उद्देश्यबारे आफ्नो भनाइ राखे।





