भुटानी प्रधानमन्त्री सेरिङ तोब्गे बंगलादेशको दुईदिने राजकीय भ्रमणमा



काठमाडौँ । भुटानका प्रधानमन्त्री सेरिङ तोब्गे दुईदिने राजकीय भ्रमणका लागि शनिबार बंगलादेश पुग्नुभएको छ । ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एचएसआईए)मा उहाँलाई बंगलादेशका मुख्य सल्लाहकार प्रा. मुहम्मद युनुसले स्वागत गरेका थिए ।

विमानस्थलको भिआइपी लाउन्जमा तोब्गे र युनुसबीच छोटो भेटवार्ता भएको थियो । सो क्रममा प्रधानमन्त्री तोब्गेले शुक्रबारको भूकम्पका कारण भएको क्षतिको बारेमा चासो व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

संक्षिप्त बैठकपछि तोब्गेलाई अस्थायी सलामी मञ्चमा १९ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरिएको थियो ।

विमानस्थलको कार्यक्रम सकेपछि भुटानी प्रधानमन्त्री सावरस्थित राष्ट्रिय शहीद स्मारकमा पुगेर बंगलादेशको मुक्ति युद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रस्थान गर्नुभएको छ ।

दिउँसो बंगलादेशका विदेश सल्लाहकार र वाणिज्य सल्लाहकारले तोब्गेसँग भेट गर्ने कार्यसूची रहेको छ । त्यसपछि साँझ ३ बजे मुख्य सल्लाहकार मुहम्मद युनुससँग तेजगाँवस्थित उनको कार्यालयमा औपचारिक भेटवार्ता तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्