
नवलपुर । देवचुली–१ स्थित शनिश्चरे तालमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले १६ हजार माछाका भुरा संरक्षण–प्रवद्र्धनका उद्देश्यले हालेको छ। विश्व मत्स्य दिवसको अवसर पारेर राहु, नैनी, कमनलगायतका प्रजातिका भुरा तालमा राखिएको हो।
केन्द्रकी प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. शर्मिला कुमालका अनुसार जलीय जैविक विविधता संरक्षण, खाद्य तथा पोषण सुरक्षाको प्रवद्र्धन र पर्यटन विकासलाई समेत जोड दिने लक्ष्यसहित भुरा छोडिएको हो। उनका अनुसार यी प्रजाति प्राकृतिक रूपमा स्थानीय वातावरणमा सहज रूपमा वृद्धि हुने भएकाले छनोट गरिएको हो।
मत्स्य विकास केन्द्र भण्डारा, चितवनमा हुर्काइएको भुरा ल्याएर तालमा हालिएको हो। अघिल्ला वर्षहरूमा नारायणी नदीमा भुरा छोडिने गरे पनि यसपटक तालमा राख्नुको उद्देश्य संरक्षण र पर्यटन दुवैलाई सुदृढ बनाउनु रहेको कुमालले बताइन्।
नेपालमा एक जनाले वार्षिक झन्डै २०.५ किलो माछा उपभोग गर्नुपर्ने भए पनि स्थानीय उत्पादन तीन किलोसम्म मात्र सीमित रहने गरेको तथ्यांक छ।
मत्स्य व्यवसायीहरूका अनुसार सबै क्षेत्रमा सबै मौसममा माछा उत्पादन गर्न कठिन हुने र उत्पादन हुने समयमा समेत बजार अभाव देखिने गरेको छ। नवलपुरका मत्स्य व्यवसायी इन्द्रमणि भुसालले सरकारले भुरा, दाना मेसिन, अक्सिजन सामग्री तथा पोखरी खन्न अनुदान दिए पनि त्यो पर्याप्त नभएको बताए।





