
काठमाडौं । नेपालमै पहिलो पटक मोबाइल एपमार्फत सवारी साधन मर्मत–सम्भार सेवा उपलब्ध हुने भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘मोबाइल ग्यारेज’ नामक नयाँ एप सार्वजनिक गर्दै सवारी बिग्रिने क्षणमै मोबाइलबाटै मिस्त्री बोलाएर समस्या समाधान गर्न सकिने जानकारी दिइयो।
यस एपमार्फत सवारीधनीले नजिकैका मिस्त्री खोजी गरी समस्या आएको स्थानमै बोलाउन सक्नेछन्। बिग्रेको सवारी कुदाउँदै वा तानेर वर्कसपसम्म लैजाने झञ्झٹ हटोस भनेर यो एप विकसित गरिएको आयोजकले बताए।
मोबाइल ग्यारेजका इन्जिनियर रतन विष्टले प्रस्तुतिकरणमार्फत एपका सुविधा र यसको उपयोगिताबारे जानकारी दिए।
कार्यक्रमका विशिष्ट अतिथि, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुबेदीले प्रविधि अब दैनिक जीवनकै अभिन्न हिस्सा बनेको र मोबाइल ग्यारेजले सवारी समस्याको समाधानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले यस्तो एपले ट्राफिक व्यवस्थापनमै पनि सहयोग पुर्याउन सक्ने बताए।
प्रमुख अतिथि, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एप अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै, नेपालमै पहिलोपटक यस्तो प्रविधिको विकास भएकोमा खुशी व्यक्त गरे।
कम्पनीका अध्यक्ष ओमकार पौडेलले लामो अध्ययनपछि एप तयार भएको बताउँदै, सवारी बिग्रँदा मात्र नभई बेरोजगार मिस्त्री तथा इन्जिनियरलाई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले एप डाउनलोड गरी उपयोग गर्न सबैलाई आग्रह गरे।
सीप र समाधानलाई जोड्न बनाईएको मोबाइल ग्यारेज सार्वजनिक समारोहमा अटोमोबाइल क्षेत्रका विशेषज्ञ, इन्जिनियर तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो। सार्वजनिक भएसँगै सेवाग्राहीले एप डाउनलोड गरी प्रयोगमा ल्याउन सक्ने भएका छन्।





