
नेपालगन्ज ।
११औं धारा नेपालगन्ज म्याराथनमा नेपाली सेनाका खडक बहादुर खड्का र पूर्णलक्ष्मी न्यौपानेले उपाधि हात पारेका छन्। शनिबार सम्पन्न म्याराथनमा पुरुषतर्फ खडकले ४२.१९५ किमि दूरी २ घण्टा १५ मिनेट ६ सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक, समग्रमा तेस्रोचोटि च्याम्पियन बने। उनले यसअघि कायम भएको रेकर्डसमेत तोडे। खडकले नगद २ लाख, ट्रफी र पदक प्राप्त गरे।



पुरुष खुला वर्गमा सेनाका सुशीलकुमार शाही २:१६:४० घण्टाको समयसहित दोस्रो बनेर एक लाख रुपैयाँ पाए भने एपीएफका गोपीचन्द्र पार्की २:१९:१५ घण्टामा तेस्रो भइ ५० हजार रुपैयाँसहित सम्मानित भए। सेनाका विनोद रोकाया, एपीएफका राजन चौधरी, सेनाका धनु मानन्धरलगायत शीर्ष १८ खेलाडीले आफ्नो स्थान सुरक्षित गरे।
महिला हाफ म्याराथनमा पूर्ण राज्यलक्ष्मीको उत्कृष्ट प्रदर्शन
महिला २१ किमि हाफ म्याराथनमा सेनाकी पूर्ण राज्यलक्ष्मीले १:२१:२७ घण्टामा दूरी पार गर्दै विजेता बनिन्। एपीएफकी फुलमती राना दोस्रो, जुम्लाकी सुनदीवा बुढा तेस्रो, पुष्पा आचार्य चौथो र अमिता राई पाँचौं भइ क्रमशः ७५ हजारदेखि १० हजार रुपैयाँसम्म प्राप्त गरे। यो पूर्णलक्ष्मीको दोस्रो उपाधि हो।
१० किमि दौडमा नागेश्वर र कल्पनाको जीत
१० किमि रोडरेसमा पुरुषतर्फ नेपाल पुलिसका नागेश्वर अहिर (३१:४२:३१) पहिलो भए। एपीएफका रुपेश कार्की र सेनाका धावकले क्रमशः दोस्रो र तेस्रो स्थान पाए।
महिलातर्फ कल्पना बुढा ३७:१८:०७ समयसहित विजेता भइन्। दीपा परियार, सुनदेवा बुढा, सुमित्रा चौधरी, देवकी कुमारी र अर्जेन्टिनाकी एलियना जर्केलिस शीर्ष स्थानमा परे।
कर्पोरेट रन र अन्य विधामा प्रतिस्पर्धा
कर्पोरेट रनमा डा. रामकृष्ण लामिछाने, डा. विश्वनाथ शर्मा, निरीक्षक पदम थारु, नारायणप्रसाद बस्याल र नवीन शर्मा पौड्याल शीर्ष पाँचमा परे।
एन्जल्स स्कुललाई ‘नेपालगन्ज ट्रफी’
विद्यालयस्तरमा दौडको आकर्षण बढाउन यसवर्ष सुरु गरिएको ‘नेपालगन्ज ट्रफी’ एन्जल्स स्कुलले जित्यो। सबैभन्दा धेरै ११० जना सहभागिता गराएको आधारमा ट्रफी प्रदान गरिएको हो। प्रमुख अतिथी राजेश हमालले ट्रफी स्कुलकी निर्देशक विवेचना मल्ललाई हस्तान्तरण गरे।
स्कुल, किड्स र ह्वीलचेयर विभागका नतिजा
- जिल्लास्तरीय स्कुल दौड (छात्रा): दीपशीखा शाही, ज्ञानदेवी महतारा, अप्सरा बम
- छात्र: अरविन्द यादव, अरमन अहमद दर्जी, किरण रोकाया
- किड्स रन: नमांसु थापामगर, सुजन शाही, निकेस फडारा
- ह्वीलचेयर: पारसराम बढई, राजेश हरिजन, मनकुमारी परियार


विजेतालाई सम्मान
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तिरनदाज गौतम, महानायक राजेश हमाल, मिस नेपाल वर्ल्ड २०२५ लुना लुईँटेल, मिस नेपाल २०२३ सृच्छा प्रधानलगायत प्रतिष्ठित व्यक्तिहरूले सम्मान गरे।
नेपाल रनिङ ३ सार्वजनिक
कार्यक्रमकै अवसरमा ‘नेपाल रनिङ ३’ विशेषांक सार्वजनिक गरियो। नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीदेखि बर्लिन, थाइल्यान्ड, मुम्बई, कोसिस तथा शिकागो म्याराथनका प्रमुख व्यक्तित्वहरूका लेख समावेश भएको यो अंक प्रमुख आकर्षण रह्यो।
आयोजक कमिटीका अध्यक्ष टीएस ठकुरीले नेपालगन्ज कनक्लेव र म्याराथनलाई हरेक वर्ष फरक र स्तरिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।





