
काठमाडौं ।
नेपालको सबैभन्दा पुरानो जिम ‘नेपाल ब्यायाम मन्दिर’ले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
संस्थाको २५ औँ वार्षिक साधारणसभाले पारित गरेको निर्णयअनुसार वर्ल्ड र एसियाली प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले १ लाख ५० हजार, रजत जित्नेले १ लाख र कांस्य जित्नेले ७५ हजार पाउनेछन् ।
दक्षिण एसियाली प्रतियोगितामा पहिलो हुनेलाई १ लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार पुरस्कार दिइनेछ ।
साथै, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली तथा पूर्व मिस्टर नेपाल स्व. सरोज कुमार श्रेष्ठको स्मृतिमा शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने निर्णय पनि सभाले गरेको छ ।
सभाले संस्था अध्यक्ष नारायण प्रधानको कार्यपत्र, महासचिव सूर्य जोशीको प्रगति विवरण तथा कोषाध्यक्ष प्रशान्त श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।





