गरिमा रोड रेसमा राजन रोकाया र सन्तोषी श्रेष्ठ च्याम्पियन



काठमाडौं, मंसिर ६ ।
नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो गरिमा रोड रेसमा उत्कृष्ट प्रदर्शन गर्दै शनिबार उपाधि हात पारेका छन् । १० किलोमिटरको दूरीमा राजन पुरुषतर्फ र सन्तोषी महिलातर्फ पहिलो भए ।

पुरुषतर्फ राजनले दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भए । गत संस्करणका विजेता मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोस्रो स्थानमा रहँदा आर्मीका नै सञ्जय श्रेष्ठले ३० मिनेट ०५.०० सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।

महिलातर्फ साग स्वर्ण विजेता ओलम्पियन सन्तोषी श्रेष्ठले ३४ मिनेट ५४.४ सेकेन्डमा दौड पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जितिन् । आर्मीकी निशा मजाकोटीले ३५ मिनेट १५.३ सेकेन्डमा दोस्रो र सिर्जना पाण्डेयले ३६ मिनेट २१.३ सेकेन्डमा तेस्रो स्थान ओगटिन् । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा परिन् ।

दुवै समूहका शीर्ष पाँच धावक/धाविकाले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

गरिमा विकास बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतिस्पर्धामा भेट्रान ५० वर्षमाथिको पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो भए । अभिनारायण अधिकारी दोस्रो, रेवतबहादुर दाहाल तेस्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं भए ।
भेट्रान ४५ वर्षमाथि महिलातर्फ कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा परे । भेट्रान समूहमा नगद पुरस्कार ३० हजारदेखि ७ हजार रुपैयाँसम्म राखिएको थियो ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा ईश्वर बुढाथोकी विजयी भए भने अनुप केसी कार्की क्षेत्री दोस्रो र तेजबहादुर गिरी तेस्रो बने । महिलातर्फ रजिना दुलालले शीर्ष स्थान सुरक्षित गरिन् ।

विजेताहरूलाई विशेष फौज बाहिनी महाराजगञ्जका सहायक रथी दिपेन्द्र गुरुङ, गरिमा बैंकका अध्यक्ष दिलिपप्रताप खाँणलगायतले सम्मान गरे । सबै प्रतिस्पर्धा बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालयबाट सुरु भई त्यहीँ टुंगिएको थियो ।
दौडमा १ हजार ४ सय धावकको सहभागिता रहेको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष तथा रेस डाइरेक्टर राजन खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्