झापा–मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्दो, हात्तीको बथान निरन्तर जंगलमै



झापा । झापा र मोरङको जङ्गली क्षेत्रमा ठूलो संख्यामा हात्तीको बथान लामो समय बसाइसराइ नगरी बसेपछि मानव–हात्ती द्वन्द्व बढ्ने जोखिम थपिएको छ। हाल नेपालमा करिब २५ देखि ३० वटा बाहिरी हात्ती भित्रिएका छन्, जबकि पहिल्यै यी क्षेत्रमा कम्तीमा ३० वटा रैथाने हात्ती रहेको संरक्षणविद्हरू बताउँदै आएका छन्।

गत साता मोरङको सुन्दरहरैचा क्षेत्रबाट पूर्वतर्फ लागेको हात्तीको ठूलो झुण्ड भारततिरै जाने अनुमान गरिएको थियो। दुई वर्षअघि बाहुनडाँगी मार्ग हुँदै नेपाल पसेको यो बथान हाल झापा र मोरङकै जंगलमा विभाजित हुँदै घुमिरहेको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार रतुवामाई वृक्षरोपण क्षेत्रसम्म आइपुगेको बथान फाटफुट भई केही मोरङतिर फर्किएको र दुई झुण्ड झापाको विभिन्न जङ्गल क्षेत्रमाै फैलिएको छ।

सीमित क्षेत्रफलको जङ्गलमा हात्तीको संख्या क्रमशः बढ्दै जाँदा द्वन्द्व बढ्नु स्वाभाविक बनेको छ। आहार र सुरक्षित बासस्थान अभाव हुँदा हात्ती गाउँबस्ती नजिक प्रवेश गर्ने र त्यसको मार जङ्गलछेउका बासिन्दाले सहनुपर्ने अवस्था छ।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले “हात्ती घुमन्ते प्राणी भए पनि सहज बासस्थान र पर्याप्त आहार नपाएसम्म उसले ठाउँ छाड्दैन,” भन्दै भारततिर तत्काल फर्किने अनुमान सही नभएको बताए। उनले मोरङबाट झापातिर आएको बथानमा बालक र किशोर उमेरका हात्ती धेरै भएकाले माउ हात्तीले बिस्तारै बसाइ सार्ने गरेको उल्लेख गरे।

आसाम र पश्चिम बङ्गाल हुँदै नेपाल भित्रिने हात्तीको ओहोरदोहोर परम्परागत रूपमा चलिआएको बताउँदै खरेलले झापा–मोरङ क्षेत्रमा धान, मकै, केरा जस्ता आहार प्रशस्त भएकाले हाल हात्ती नेपालकै जंगलमा रोकिएको हुनसक्ने बताए।

झापामा बथान छुट्टिएपछि दमकको हम्सेदुम्से, शिवसताक्षीलगायत क्षेत्रमा स्थानीयवासीसँग हात्तीको जम्काभेट बढेको छ। दिनभरि बाक्लो जंगलमा रहने हात्ती दिउँसो आहार खोज्दै बाहिर निस्कने भएकाले दाउरा लिन वा गाईबस्तु चराउन जाने मानिसहरू बढी जोखिममा छन्।

रैथाने हात्तीको तुलनामा बसाइसराइ गरेका हात्ती कम आक्रामक हुने खरेलले बताए। तर, “हात्तीलाई जिस्काउने, आगो झोस्ने वा उक्साउने गतिविधिले नै प्रायः मानवीय क्षति निम्त्याउने गरेको” उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्